छुट्टाछुट्टै दुर्घटनामा सातजना घाईते
सर्लाही समाचारदाता
नेत्रगंज, मङ्सिर १७ । पूर्व–पश्चिम राजमार्गमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटना ७ जना घाईते भएका छन् ।
नेत्रगंज गाविस स्थित वागवानी केन्द्र नजिक साँझ सवा पाँच बजे दुईवटा मोटरसाईकल एकआपसमा जुध्दा तीनजना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आईरहेको भारतीय बीआर ३० एफ ६६७६ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.४ प ४२८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् । पूर्वतर्फ गईरहेको मोटरसाईकलमा सवार कमलामाई नगरपालिका–१२, सिन्धुली निवासी करिब ४५ वर्षिय विष्णुबहादुर बोगटी र सोही ठाउँ बस्ने करिब ३५ वर्षिय सुरेश माझि तथा पश्चिमबाट पूर्वतर्फ आईरहेको मोटरसाईकलका चालक हरिवन–९ निवासी करिब २२ वर्षिय आलोक साह घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घाईते मध्ये माझीको अवस्था केही गम्भिर एवं अन्यको अवस्था सामान्य रहेको बताईएको छ । उनीहरु तीनैजनाको हरिवन स्थित नमूना अस्पतालमा उपचार भईरहेको छ । भारतीय मोटरसाईकल चलाईरहेका साहले गलत दिशामा आएर ठक्कर दिएको ट्राफिक प्रहरीले जनायो ।
त्यस्तै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुर बजारमा बिहान भएको सवारी दुर्घटनामा ४ जना घाईते भएका छन् । लालबन्दीबाट हरिवन तर्फ आउँदै गरेको को. १ ज १४४२ नम्बरको म्याजिकले विपरित दिसाबाट आउदै गरेको अनटेस्ट डिस्कभर मोटरसाईकल लाई ठक्कर दिएको थियो । दुर्घटनामा परि म्याजिक चालक रानिगंज गाविस–२ का २१ वर्षिय मनोज गिरि, सहचालक इश्वरपुर गाविस–२ का २२ वर्षिय धिरेन्द्र साह, मोटरसाईकल चालक हरिवन गाविस–९ का २२ वर्षिय राजकिशोर साह र मोटरसाईकलमा सवार हरिवन गाविस–९ निवासी २३ वर्षिय सुरेश साह घाईते भएका हुन् । उनीहरु मध्ये मोटरसाईल चालक साहको अवस्था गम्भिर रहेको बताईएको छ । उनलाई हरिवन स्थित नमूना अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाईएको ट्राफिक प्रहरीले जनायो । ठक्कर दिने म्याजिक तथा मोटरसाईकल एवं साँझ एकआपसमा ठक्कर खाएका दुईवटा मोटरसाईकल ईलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेका छन् ।
No comments:
Post a Comment