बलात्कृत किशोरीलाई काठमाण्डौ पठाईयो
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २४ । सदरमुकाम मलंगवामा सामुहिक बलात्कारको शिकार बनेकी एक किशोरीलाई काठमाण्डौ स्थित शक्ति महिला समुहको जिम्मा लगाईएको छ ।
गत मंगलबार विहानदेखि बुधबार विहानसम्म सदरमुकाम मलंगवा स्थित विभिन्न लज र भारतको सोनवर्षामा समेत उनीमाथि जबरजस्ती करणी भएको बताईएको छ । सिन्धुपाल्चोक निवासी ती किशोरीले आफू कुनैपनि हालतमा घर नजाने र पठाईए मर्न तयार रहेको बताएकाले उद्धारपछि संरक्षण गरिरहेको महिला तथा बालबालिका कार्यालय अन्तर्गतका महिला शान्ति केन्द्रले शक्ति महिला समूहको जिम्मा लगाएको हो ।
‘‘उनलाई शक्ति समूहको संरक्षणमा राखिने भएको छ ।’’ शान्ति केन्द्रकी बनिता
कार्कीले सोमबार भनिन्–‘‘उनको अध्ययन एवं पालन पोषण लगायतका सम्पूर्ण जिम्मेवारी शक्ति समूहले बेहोर्ने भएको छ ।’’ शक्ति महिला समूह संयुक्त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति वील क्लीण्टनकी श्रीमति एवं पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लीण्टनद्वारा अमेरिकामै सम्मानित नेपाली चेली चरिमाया तामाङद्वारा सञ्चालित संस्था हो ।
पीडित किशोरीका दाजुले पनि बहिनीले घर नजाने अड्डी लिएकाले शक्ति समूहको जिम्मामा छाड्न तयार भएको बताए । ‘‘घटनापछि बहिनीमा मानसिक विचलन आएको छ ।’’ बहिनी लिन आइतबार सदरमुकाम मलंगवा आएका उनले सोमबार सर्लाही दैनिकसँग भने–‘‘घरमा लगेर राख्दा भोली जे सुकै हुने देखिएकाले शक्ति समूहकै जिम्मामा छाड्ने भईयो ।’’ सोमबार राती नै उनले बहिनीलाई लिएर काठमाण्डौतर्फ गएका छन् ।
पीडित किशोरीको बयानका आधारमा महिला तथा बालबालिका कार्यालय मलंगवा अन्तर्गत महिला शान्ति केन्द्रले गत शुक्रबार तीनजना प्रहरी एवं तीनजना रात्रीबसका मजदुरहरुको नाम सहित १२ जनाले सामुहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिईसकेको छ । प्रहरी जवानहरु संजीत कार्की, राजकुमार फुयाँल, र अरवीन्द महतोलाई जिल्ला अदालतबाट मंगलबारसम्म पाँच दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनायो । किटानी जाहेरीमा नाम उल्लेख भएका अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कानूनी प्रकृयाका सिलसिलाका लागि आवश्यक पर्ने समयमा ती किशोरीलाई उपस्थित गराउने शर्तमा लैजान लागिएको उनका दाजुले बताए ।
No comments:
Post a Comment