‘सर्लाहीमा जताततै भ्रष्टाचार र अनियमितता’
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २३ । सर्लाहीमा हरेक क्षेत्र आर्थिक अनियमितता तथा नैतिकता विहिनको अवस्थामा चुर्लुम्म डुबेको सदरमुकाम मलंगवामा आइतबार भएको एक कार्यक्रमका अधिकाशं सहभागिले गुनासो गरेका छन् । ‘स्थानीय सरकार ः स्वरुप र सुशासन’ विषयक कार्यशाला गोष्ठीका सहभागिले सर्लाहीका जिविस, गाविस लगायत विकासे कार्यालयमा सुशासनको नाममा ‘सु’ पनि नहुने गरेको र भ्रष्टाचार एवं अनियमितताले जकडिएको आरोप लगाए ।
नेपाल मधेश फाउण्डेशनको आयोजनामा भएको कार्यशाला गोष्ठीमा सहभागि अधिकाशं स्थानीय सहभागिले जिल्ला स्थित राजनैतिक दलका नेतादेखि कर्मचारीसम्म सबैको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दावी गरे । माथिल्लो निकायमा नै भ्रष्टाचार हुने भएकाले जिल्लामा भ्रष्टाचार र अनियमितता हुनु कुनै नौलो नभएको उल्लेख गर्दै उनीहरुले माथिल्लो निकायबाटै त्यस्ता विकृति रोक्न पहल हुनुपर्ने माग गरे ।
‘‘माथिल्लो निकायमा नै नीतिगत भ्रष्टाचार हुन्छ, सांसद खरिद विक्रीमै करोडौं चलखेल हुन्छ ।’’ सेवा निवृत्त शिक्षक संघका अध्यक्ष शैलेन्द्र यादवले भने–‘‘राजनैतिक दलका नेतादेखि कर्मचारी सबैजना नैतिकहिन बनेका छन्, त्यसैले भ्रष्टाचार र अनियमितताले जरा गाड्दै लगेको छ ।’’ जतिसुकै सरकार परिवर्तन भएपनि नैतिकता र इमान्दारीता प्रस्तुत नभएसम्म त्यस्ता विकृति एवं विसंगतीमा सुधार नआउने उनको कथन थियो ।
सहभागिहरुले जिल्ला विकास समिति, गाउँ विकास समिति जस्ता स्थानीय निकायहरु कर्मचारीको हातमा वर्षौंदेखि रहँदा सरकारी बजेटबाट लक्षीत समुदाय प्रभावकारी ढंगबाट लाभान्वित हुन नसकेको गुनासो गरे । अधिकांश गाविस सचिवहरु गाविसमा नबस्ने गरेको, राजनैतिक दलका केही व्यक्तिहरुको पछि लागेर बजेटमा अनियमितता गर्ने गरेको, कोठामा नै गाउँ परिषद सक्ने गरेको जस्ता आरोपहरु सहभागिको थियो ।
सर्लाहीमा...........
जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि डामाडोलको अवस्था रहेको सहभागिहरुले गुनासो गरे । राजनैतिक क्षेत्रको अस्तव्यस्तताका कारण स्थानीय निकाय, शिक्षा, स्वास्थ्य, कृषि लगायत समग्र क्षेत्रहरुमा अनेकौंखाले विकृति र विसंगतीहरु क्रमशः भित्रिदै गईरहेको सहभागिको चिन्ता थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति लक्ष्मण राय, गैर सरकारी संस्था समन्वय समितिका अध्यक्ष रजनीकान्त झा, स्थानीय शान्ति समितिकी संयोजक भवानी कोइराला, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्ण, नागरिक समाजका अगुवा उग्रकान्त झा, दलित अगुवा भूपनारायण राम लगायत अन्य विभिन्न राजनैतिक दलका प्रतिनिधि, पिछडा वर्गका प्रतिनिधि, संचारकर्मी लगायतको सभागिता रहेको थियो । उनीहरुले जिल्लाको सुशासनको अवस्थाप्रति टिप्पणी गरेका थिए ।
नेपालमा सहभागितामुलक संविधान निर्माण सहयोग परियोजनाको सहयोगमा सञ्चालित कार्यक्रममा कृष्ण हाचेछुले संघीयतामा सुशासनको संरचना तथा तुलानारायण साहले संघीयतामा सुशासनका चुनौती विषयक कार्यपत्र समेत प्रस्तुत गरेका थिए । सविन खनालको संयोजनमा भएको कार्यक्रम धिरेन्द्र प्रेमर्षीले सञ्चालन गरेका थिए ।
No comments:
Post a Comment