Monday, January 20, 2014

बज्जिकाको अनुसन्धान गर्ने टोली सर्लाहीमा

बज्जिकाको अनुसन्धान गर्ने टोली सर्लाहीमा
सुनिल ठाकुर÷सर्लाही दैनिक
मलंगवा, माघ ०६ गते । बज्जिका भाषाको अध्ययन अनुसन्धान गर्नका लागि त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान केन्द्रिय विभागबाट ५ सदस्यीय टोली सर्लाही आएको छ ।
बि.स. २०६८ मा सम्पन्न भएको जनगणनामा करिब ७ लाख मानिसले आफ्नो मातृभाषा बज्जिका दर्ता गराएकोेले त्यसको राष्ट्रिय पहिचान कायम गराउनका लागि अनुसन्धान थालिएको टोलीका संयोजक प्रा.डा. दानराज रेग्मीले बताएका छन् ।
२०४६÷४७ सालको जनआन्दोलन पश्चात देखि नै विभिन्न मातृभाषालाई राष्ट्रिय पहिचान दिनुपर्ने माग भएपनि अहिले आएर त्यसको प्रारम्भिक अनुसन्धान शुरु भएको रेग्मीले बताए ।
टोलीले विभिन्न उमेर समूहका मानिससँग भाषाका बारेमा जानकारी लिनुको साथै नेपाली भाषाका बिभिन्न शब्द तथा सामानहरुलाई बज्जिकामा के भनिन्छ भनि सोधेका थिए । टोलीले १५ वर्षदेखि ३० वर्ष उमेर समूहका २ जना महिला त्यसैगरी ३० देखि ६० वर्ष उमेर समूहका तथा ६० वर्ष देखि माथि उमेर समूहका पुरुष तथा माहिलासँग भाषाका बारेमा जानकारी लिएको थियो । बज्जिका भाषामा कुनै लिपि, व्याकरण, गित संगीत, चलचित्र, किताब छ कि छैन भनेर पनि अनुसन्धान भईरहेको टोलीका सदस्य गोपाल ठाकुरले जानकारी दिए । अनुसन्धानका क्रममा प्रश्नकर्ताले सर्वसधारणलाई बज्जिका भाषालाई लिपिबद्ध तथा विद्यालयको पाठ्यक्रममा चाहनु हुन्छ कि हुन्न भनेर समेत प्रश्न गरेका थिए ।
प्रारम्भिक चरणमा टोलीले जिल्लाको बिचभाग, उत्तरी भेग, पूर्वी भेग, दक्षिणी भेग तथा पश्चिमी भेग गरि ५ स्थानका मानिसका व्यक्तिसँग भाषाका बारेमा सोधखोज गर्ने ठाकुरको कथन छ । सर्लाहीमा मधेशी समुदायका व्यक्तिहरुले मूख्यरुपमा बज्जिका भाषा बोल्ने गरेको पाइएको ठाकुरले बताए । बज्जिका भाषामा सर्लाहीको पूर्वी क्षेत्रमा मैथली तथा पश्चिमी क्षेत्रमा भोजपुरीको मिश्रण केही रुपमा पाइएको तथ्यांकमा देखिएको छ । टोलीले बज्जिका, मैथली, अवधि, भोजपुरी गरि ८ भाषाका बारेमा अनुसन्धान गर्नेक्रममा बज्जिका लागि सर्लाही आएको जनाएका छन् । टोलीमा डा. अम्बिका रेग्मी, गोपाल ठाकुर, इन्द्रेष ठाकुर तथा विश्वनाथ खनाल रहेका छन् ।

No comments:

Post a Comment