शिक्षक संघको क्षेत्रीय नेतृत्व चयन
सर्लाही समाचारदाता
इश्वरपुर, माघ ११ । नेपाल शिक्षक संघ सर्लाहीको क्षेत्रीय समिती गठन भएको छ ।
शनिबार इश्वरपुरमा भएको क्षेत्र नं. १ को भेलाले संघको क्षेत्रीय समिति चयन गरेको हो । साँझ अवेरसम्म चलेको भेलाले लालबन्दी गाविस– ३ स्थित निमाविका शिक्षक अशोक डुमजुङको अध्यक्षतामा १० सदस्यीय क्षेत्रीय नेतृत्व चयन गरेको संघका जिल्ला अध्यक्ष कौशल किशोर रायले बताए ।
अन्य पदहरुमा दिउँसै सर्वसम्मत रुपमा चयन गरिएपनि अध्यक्ष पदमा भने तीनजना आकांक्षी हुँदा केही ढिलाई भएको थियो । लक्ष्मी बाँनिया, गणेश कार्की र डुमजुङले अध्यक्ष बन्ने चाहना देखाएपछि निर्वाचन समिति गठन गरेर निर्णय गरिएको थियो । तीनैजना आकांक्षीले निर्वाचन समितिले गरेको निर्णय मान्य हुने लिखित सहमति जनाएपछि समितिले डुमजुङलाई चयन भएको हो ।
प्रधानाध्यापक विन्देश्वर सिंह नेतृत्वमा ऋषिराम तिमल्सिना, अर्चना खरेल तथा मध्यस्थता व्यक्ति नरेन्द्र भट्टराई रहेको समितिले डुमजुङलाई चयन गरेको थियो । समितिमा उपाध्यक्ष संगीता श्रेष्ठ चौधरी, सचिव रामविनय झा, सहसचिव आशा घिमिरे, कोषाध्यक्ष मिथिला कोइराला तथा सदस्यहरुमा भक्तिमाया विक, छत्रबहादुर रखाल, सुरेश पासवान, अजित पोखरेल र निजी स्रोतका शिक्षकबाट बुद्ध बराल चयन भएका छन् ।
यसअघि क्षेत्रीय समितिका निवर्तमान अध्यक्ष महेश बरालको सभापतित्वमा अधिवेशन उद्घाटन समारोह संघकी केन्द्रीय सदस्य सरस्वती ढुंगानाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लक्ष्मण राय विशिष्ट अतिथी रहेको थिए भने जिल्ला सचिव नविन अधिकारी, रविनन्दन चौधरी, नेपाल शिक्षक संघका सर्लाही अध्यक्ष कौशलकिशोर यादव लगायतले मन्तव्य राखेका थिए ।
No comments:
Post a Comment