Monday, January 20, 2014

डिआईजीको आशामा दिन वित्यो

डिआईजीको आशामा दिन वित्यो
सर्लाही समाचारदाता
मलंगवा, माघ ०६ । निरीक्षण एवं आवश्यक निर्देशन दिनका लागि आउने भनिएका नेपाल प्रहरीका मध्यमाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायव महानिरीक्षक            (डिआईजी) प्रकाश अर्याल सोमबार सर्लाही आएनन् ।
सशस्त्र प्रहरीका मध्य क्षेत्रीय बाहिनी पथलैयाका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक महाविर गुरुङको विदाई परेपछि सोही कार्यक्रममा सरिक हुनुपरेकाले डिआईजी अर्याल सोमबार सर्लाही आउन नसकेको प्रहरी स्रोतले जनाएको छ । डिआईजी अर्याल मंगलबार आउने बताईएको छ । यसअघि डिआईजी अर्याल सर्लाहीमा सोमबार आउने र राती पनि यतै बास बस्ने कार्यक्रम तय भएको थियो ।
निरीक्षण एवं आवश्यक निर्देशन दिनका लागि आउने भएपछि सोमबार दिनभर जिल्ला प्रहरी कार्यालयका सुरक्षा अधिकृतहरुलाई भ्याई नभ्याई थियो । सरसफाई गर्ने कामदेखि डिआईजीको स्वागतमा कमि नहोस् भनेर सुरक्षा अधिकृतहरुदेखि जवानसम्म तयारीमा व्यस्त थिए । जिल्लाको शान्ति सुरक्षाको अवस्था लगायत बारेमा प्रतिवेदन सुनाउने र डिआईजीबाट आवश्यक निर्देशन सुन्नका लागि जिल्ला प्रहरी कार्यालयमा तयारी गरिएको थियो ।
डिआईजी आउने भएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक सहित सबै सुरक्षाकर्मीहरु प्रहरी पोशाकमै बसेका थिए । तर साँझ ५ बजेपछि डिआईजी अर्याल आज नआउने र भोली आउने पक्का भएको खबर आयो । ‘‘दिनभर सेवाग्राहीका कतिपय कामहरु समेत नगरी डिआईजी साहेबको स्वागतका लागि तमतयार भएर बस्यौं ।’’ एक सुरक्षाकर्मीले भने–‘‘जुत्तामा लागेको धुलो समेत पटक–पटक पुछेर तयारीका साथ बसियो, तर साँझमा मात्र नआउने भन्ने थाहाभयो ।’’
भर्खरै मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख भएका अर्याल सर्लाही प्रहरीको निरीक्षणमा पहिलो पटक आउन लागेका हुन् । सोमबारको कार्यक्रम स्थगीत भएपनि सम्भवत मंगलबार विहान ईलाका प्रहरी कार्यालय बरहथवा, इलाका प्रहरी कार्यालय हरकठवा, इलाका प्रहरी कार्यालय गडहिया लगायतको निरीक्षण गर्दै डिआईजी अर्याल अपरान्हसम्ममा सदरमुकाम मलंगवा आईपुग्ने बताईएको छ ।

No comments:

Post a Comment