Thursday, January 23, 2014

चारदिनदेखि ठप्प भन्सार खुल्यो

चारदिनदेखि ठप्प भन्सार खुल्यो
सर्लाही समाचारदाता
मलंगवा, माघ ०९ । कार्यालय प्रमुख टिकाराम भुसालमाथि कुटपीट भएको विरोधमा कर्मचारीहरुले काम नगरेपछि ४ दिनदेखि ठप्प सर्लाही भन्सार कार्यालय विहिबार साँझबाट सुचारु भएको छ ।
भन्सार प्रमुख भुसालमाथि कुटपीट गर्ने दोषिहरुलाई यथाशिघ्र पक्राउ गरी कार्वाही गर्ने, कुटपीट हुँदा भन्सार कार्यालयमा ड्यूटीमा रहेका सुरक्षाकर्मीहरुलाई कार्वाही गर्ने लगायतमा स्थानीय प्रहरी प्रशासनले प्रतिबद्धता जनाएपछि भन्सारको कामकार्वाही सुचारु गरिएको बताईएको छ ।
भन्सार प्रमुख भुसाल, अर्थमन्त्री शंकर कोइराला, अर्थ सचिव, भन्सार विभागका महानिर्देशक, गृह सचिव लगायतको विहिबार काठमाण्डौमा भएको छलफल पछि ठप्प रहेको भन्सार खुलाउने सहमति गरिएको हो । काठमाण्डौमा भएको छलफलमा विभिन्न कर्मचारी संगठनका नेताहरुको समेत सहभागिता रहेको थियो ।
‘‘जनताले दुःख पाउने अवस्था नआओस् र दोषिहरुमाथि कार्वाही होस् भन्ने अभिप्रायका साथ भन्सारको काम कार्वाही सुचारु गर्ने निर्णय भएको छ ।’’ भन्सार प्रमुख भुसालले भने–‘‘१५ दिननभित्र दोषिहरु पक्राउ नपरेमा पूनः आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने गरी हाललाई काम कार्वाही सुचारु गर्ने निर्णय भएको हो ।’’ भन्सार प्रमुख भुसालले अर्थ मन्त्री, सचिव एवं गृह मन्त्रालयका सचिव सहित भन्सार विभागका महानिर्देशक एवं सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट घटनाबारे गम्भिर ढंगले कार्वाही प्रकृया अगाडी बढाईएको प्रतिबद्धता आएपछि १५ दिनसम्मका लागि कार्यालयका कामकार्वाही सुचारु गर्ने निर्णय भएको बताए ।
४ दिनदेखि भारतबाट सामान बोकेर नेपाल भित्रिने क्रममा सिमा क्षेत्रमै रोकिएर बसेका मालबाहक सवारी साधनहरु विहिबार साँझ ४ बजेबाट भन्सार सुचारु भएसँगै भित्रिएका छन् ।  १० वटा कोईला बोकेका ट्रक, आलु बोकेका २ वटा र माछा बोकेका २ वटा ट्रकहरु नेपालतर्फ भित्रिएका हुन् । त्यसबाट ३ लाख ५० हजार भन्दाबढी राजश्व संकलन भएको समेत भन्सार कार्यालयले जनायो ।
कार्यकक्षमा बसिरहेको अवस्थामा सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले भन्सार प्रमुख भुसालमाथि हातपात सहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका थिए ।  कार्यालय प्रमुखमाथि हातपात गर्ने दोषिमाथि कार्वाह नभएसम्म अनिश्चितकालका लागि काम बन्द गरिएको सूचना कार्यालयको मूलगेटमा टाँस गरेर भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।
आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समुहले भुसालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।

No comments:

Post a Comment