कार्तिकेय बालप्रतिभा पुरस्कार घोषणा
सर्लाही समाचारदाता
हरिवन, माघ १३ । सर्लाहीको हरिवन गाविस–२ निवासी कार्तिकेय घिमिरेद्वारा स्थापीत कार्तिकेय बालप्रतिभा पुरस्कार–२०७० बाट विभिन्न बालबालिका पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कार विगत ११ वर्षदेखि प्रदान गरिँदै आएको छ ।
वर्षकै सबैभन्दा बढी साहित्यिक कृति अध्ययन गर्ने उत्कृष्ट प्रतिभाको रुपमा ज्वाला ढकाल (कक्षा ६, सेन्ट मेरिज स्कुल, जावलाखेल, ललितपुर) पुरस्कृत भएकी छिन् । उनी कक्षा १ देखि नै विद्यालयमा सँधै प्रथम हुँदै आएकी छिन् । उनका दुईवटा कृति प्रकाशित छ । उनलाई सिर्जनशील, मेहनती एवं प्रतिभावान् छात्राको रुपमा छनोट गरी नगद दश हजार एक रुपैया र ताम्रपत्रसहित पुरस्कृत गरिने भएको छ ।
त्यस्तै नृत्य तर्फको कार्तिकेय बालप्रतिभा पुरस्कारबाट प्रतिष्ठा पौडेललाई पुरस्कृत गरिने भएको छ । उनी ओम ज्ञान मन्दिर स्कुल, कौशलटार, भक्तपुरमा कक्षा १० मा पढ्छिन् । उनलाई पाँच हजार एक रुपियाँ नगद र ताम्रपत्रसहित यो पुरस्कार प्रदान गरिने छ ।
त्यसैगरी कार्तिकेय बालसाहित्य प्रवद्र्धन पुरस्कारबाट नेपाल भाषाको मासिक बालपत्रिका ‘ईलोहं ’लाई प्रदान गरिने भएको छ । यो पत्रिकाका प्रधान सम्पादक नरेशवीर शाक्य हुन् । विगत १४ वर्षदेखि प्रकाशित यस पत्रिकाका हालसम्म १५७ अंक प्रकाशित छ । नगद पाँचहजार एक र ताम्रपत्रसहित यो पुरस्कार प्रदान गरिन्छ । यो पुरस्कार हरेक वर्ष बालसाहित्य प्रवर्धनका लागि समर्पित व्यक्तित्व, संघसंस्था वा मिडियालाई प्रदान गरिँदै आएको छ । त्यस्तै प्रयास नेपालसँगको सहकार्यमा कोषले इटाभट्टामा काम गर्ने श्रमिकका छोराछोरीमा पठन संस्कृतिको विकासका लागि र सन्ध्या पुस्तकालय, सिफल, काठमाडौंलाई बालसाहित्यका पुस्तकहरु सहयोग गर्ने भएको छ ।
त्यस्तै विगत ५ वर्षदेखि वितरण हुँदै आएको प्रारम्भ बालप्रतिभा पुरस्कार वि. सं. २०६९ र २०७० का लागि क्रमशः सुशान्तमान सिंह मास्के (कक्षा ८, नोवेल एकेडेमी) र विज्ञता कार्की (कक्षा ६, एम्बिसन स्कुल) लाई प्रदान गरिने भएको छ । दुवै प्रतिभालाई जनही नगद पाँच हजार एक रुपैंया सहित पुरस्कृत गरिने छ । यो पुरस्कारका संस्थापक संस्थापक लेखक÷समालोचक महेश पौड्याल प्रारम्भ हुन् । यो लेखक पौड्यालको लेखकस्वबाट स्थापित पुरस्कार हो ।
पुरस्कृत बालक सुशान्तमान सिंह मास्के रेडियो नेपालका कान्छा समाचारवाचक हुन् । उनको अँध्यारोमा जूनकिरी र भक्तपुर घुम्दाको मज्जा नामक दुईवटा कृति प्रकाशित भएको छ । विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित उनले लेखेका लेखहरुको संग्रह प्रकाशनको तयारीमा रहेको कुरा उनले बताएका छन् ।
विज्ञता कार्की सानै उमेरदेखि विलक्षण क्षमता प्रस्तुत गर्न सफल प्रतिभा हुन् । उनी चित्रकलामा सिपालु छिन् । उनले चित्रकलामा पुरस्कारहरु जितेकी छिन् । उनको चित्र भित्र लुकेको शब्द र यात्री सिंह गरी दुईवटा कृतिहरु प्रकाशित भएको छ ।
त्यसै गरी यस वर्ष गोविन्द बहादुर मल्ल गोठाले पुरस्कार अन्जना राजवंशी लिखित कृति सृष्टिको कथा लाई नगद एघार हजार एक सय एघार रुपैया र ताम्रपत्रसहित प्रदान गरिने भएको छ । यो पुरस्कारको अक्षयकोशको दाता साहित्यकार जलेश्वरी श्रेष्ठ हुन् ।
प्रतिभा छनोटका लागि सिफारिस आब्हान गरिए अनुसार विभिन्न २३ वटा विद्यालय तथा संघसंस्थाहरुबाट प्राप्त सिफारिसहरुमध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो । कोषका अध्यक्ष मोहन कार्की, उपाध्यक्ष पारस श्रेष्ठ, कोषाध्यक्ष भगवती पौडेल र केटाकेटी मिडियाका सल्लाहकार डा. रुबनलालसहितको पाँच सदस्यीय मूल्याकंन समितिको निर्णयका आधारमा उत्कृष्ट बालप्रतिभाहरु र पत्रिकाको छनोट गरिएको हो । पुरस्कार फागुन २०७० मा बितरण गरिने कार्यक्रम रहेको कोषले जनाएको छ । कार्तिकेय वाल प्रतिभा पुरस्कारका संस्थापक कार्तिकेय घिमिरे सर्लाहीको हरिवन गाविस–२ निवासी हुन् र हाल उनी काठमाण्डौमा रहेर वाल साहित्यको क्षेत्रमा क्रियाशिल छन् ।
No comments:
Post a Comment