Sunday, January 26, 2014

भोली जिविसको इलाका गोष्ठी हुने

भोली जिविसको इलाका गोष्ठी हुने
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । इलाका स्तरीय योजना तर्जूमा गोष्ठी तयारीका लागि जिल्ला विकास समितिको कार्यालयले आईतबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी मंगलबार १७ वटै इलाकामा एकसाथ हुने गोष्ठीका लागि राजनैतिक दलका नेता र जिविसका कर्मचारीहरुलाई अभिमुखिकरण गराईएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । योजनाको प्राथमिकिकरण, छनौटको प्रकृया, सहभागिताको विषय लगायतमा राजनैतिक दलका नेता तथा जिविसका कर्मचारीलाई जानकारी गराईएको हो ।
योजना तर्जूमा गोष्ठीमा १७ वटै इलाकामा जिविसका एक–एकजना कर्मचारी जाने गर्दछन् । यसपटक जिविसलाई सल्लाह सुझाव दिने जिल्ला स्तरीय राजनैतिक संयन्त्रबाट समेत १७ वटै इलाकामा हुने गोष्ठीमा एक–एकजना प्रतिनिधित्व गराउने व्यवस्था मिलाईएको स्थानीय विकास अधिकारी बस्नेतले बताए ।
यसपटकदेखि जिविसबाट सञ्चालन गरिने योजनाहरुका लागि इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाटै छनौटमा परेर आउनुपर्ने स्थानीय विकास अधिकारी बस्नेतले जानकारी दिए । ‘‘यो पटकटदेखि कसैको गोजीबाट वा जिविसमा सिधै निवेदन दिएको भरमा योजना पर्दैन ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘प्रकृया विपरितका कुनैपनि योजना सञ्चालन गर्दैनौं ।’’
अभिमुखिकरण बैठकमा स्थानीय विकास अधिकारी बस्नेतले ठोस कामहरु गर्नका लागि राजनैतिक दलका नेताहरुसँग आग्रह गरेपनि उनीहरुले इन्कार गरेको जिविसका एक कर्मचारीले बताए । ‘‘एलडिओ साहेबले कम्तिमा ६ वटा क्षेत्रका ६ स्थानमा कालोपत्रे गर्ने लगायत देखिने खालका ठोस काम गर्नुपर्ने सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।’’ ती कर्मचारीले भने–‘‘तर राजनैतिक दलका नेताज्यूहरुले मान्नुभएन, त्यसबाट एलडिओ साहेव केही खिन्न हुनुभएको छ, खुद्रे काम गरेर बजेट त्यसै सकाउने भन्दापनि ठोस खालका योजनाहरु अगाडी बढाउनुपर्ने उहाँको आशय थियो ।’’
स्थानीय विकास अधिकारी बस्नेतले इलाका गोष्ठीबाट ठोस योजनाहरुलाई प्राथमिकतामा राखेर छनौट गर्न आफूले अभिमुखिकरण कार्यक्रममा आग्रह गरेको बताए । जिविसले यसअघि नै माघ दोस्रो साताभित्र इलाका स्तरीय योजना तर्जूमा गोष्ठी गर्ने तालिका सार्वजनिक गरिसकेको थियो । इलाका गोष्ठीमा जिविसका कर्मचारी, गाविस सचिव, स्थानीय राजनैतिक दलका प्रतिनिधि, लक्षित वर्गका प्रतिनिधि, विषयगत कार्यालय एवं गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहने गर्दछ । यसपटक भने जिल्ला स्तरीय राजनैतिक संयन्त्रबाट समेत एक–एकजना प्रतिनिधि राख्ने व्यवस्था मिलाईएको छ ।

No comments:

Post a Comment