Thursday, January 30, 2014

गाउँ परिषदमा दोहोरो तथ्यांक

गाउँ परिषदमा दोहोरो तथ्यांक
सर्लाही समाचारदाता
मलंगवा, माघ १५ । नियमानुसार गत पुस मसान्तभित्र परिषद सक्नुपर्ने भएपनि सर्लाहीका कतिपय गाविसहरुले अझै गाउँ परिषद गर्न सकेका छैनन् ।
जिल्ला विकास समितिको कार्यालयको तथ्यांक अनुसार ४४ वटा गाविसले गाउँ परिषद गर्न बाँकी छ भने गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्णका अनुसार २८ वटा गाविसले परिषद गर्न बाँकी छ । स्थानीय विकास अधिकारी उमेश बस्नेतले ५५ वटा गाविसले मात्र परिषद सम्पन्न गरेको आफूलाई जानकारी आएको बताएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष कर्णका अनुसार ७१ वटा गाविसको परिषद सम्पन्न भईसकेको छ ।
माघ १५ गते अर्थात बुधबार भित्र गाविस कार्यालयले गाउँ परिषद सम्पन्न भएको लिखित जानकारी जिल्ला विकास समितिको कार्यालयमा गराउनु पर्दछ । तर स्थानीय विकास अधिकारी बस्नेतको भनाई अनुसार ५५ वटा गाविसको मात्र परिषद सम्पन्न भएको जानकारी आएको बताएका छन् ।
नियमानुसार गाउँ परिषद नगर्ने गाविसहरु न्यूनतम शर्त मापन सूचकमा फेल हुने र थप अनुदान पाउनबाट वञ्चित हुने जिविसले जनाएको छ । जसअनुसार ४४ वटा गाविसहरु एमसिपिएममा फेल हुने भएका छन् । १७ वटै इलाकामा गत मंगलबार नै इलाका स्तरीय योजना तर्जूमा गोष्ठी सम्पन्न भईसकेकाले ४४ वटा गाविसहरुले अगाडीकै मितिमा परिषद सम्पन्न गरेपनि अब मान्य नहुने जिविस स्रोतले जनाएको छ ।
बबरगंज, मोहनपुर, भेल्ही, कविलासी, हेमपुर, जमुनिया, सलेमपुर, जानकीनगर लगायत गाविसहरुमा अझै गाउँ परिषद हुन नसकेको जिविस स्रोतले जनायो । राजनैतिक विवाद र गाविस सचिवको सरुवा लगायत कारणले ती गाविसहरुमा गाउँ परिषद हुन नसकेको बताईएको छ ।
गाउँ परिषद सम्पन्न गर्नुपर्ने अन्तिम समयतिर गाविस सचिवहरुको सरुवा भएका कारण पनि गाविसहरुको परिषद प्रभावित बनेको एक गाविस सचिवले     बताए ।

No comments:

Post a Comment