Sunday, January 26, 2014

वेपत्ता जगन्नाथको गाडिएको शव फेला प¥यो

वेपत्ता जगन्नाथको गाडिएको शव फेला प¥यो
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । बाह्र दिनदेखि हराईरहेका बबरगंज गाविसका एक सर्वसाधारणको गाडिएको अवस्थामा आईतबार शव फेला परेको छ । बबरगंज गाविस–८ निवासी करिब ४२ वर्षिय जगन्नाथ महतोको शव गाउँ नजिकै खेतमा गाडिएको अवस्थामा फेला परेको हो । मृतक महतो गत माघ १ गते बुधबार राती साँढे ८ बजेबाट परिवारसँग सम्पर्क विहिन भएका थिए । उनलाई अपहरण गरिएको आशंकामा परिवारजनले गत माघ ८ गते प्रहरीमा लिखित निवेदन दर्ता गराएका थिए । घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आईतबार साँझ साँढे ६ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । शव पोष्टमार्टमका लागि राती नै सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल ल्याईएको छ ।
मृतकका आफन्तका अनुसार गाउँका बालबालिका खेल्दै जाने क्रममा खाल्डो खनेर गाडिएको स्थानमा हात मात्र बाहिर निस्केको देखेपछि खनेर हेर्दा महतोको शव फेला परेको हो । खाल्डो खनेर माटोले पुरेको शवलाई स्यालले खनेपछि एउटा हात बाहिर निस्केको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार वेवारिसे शव गाडेको अवस्थामा फेला परेको खबरसँगै मृतकका आफन्तले उक्त शव महतोकै भएको पहिचान गरेका थिए । ‘‘मान्छे वेपत्ता भएको हुलिया परेकाले गाडेको अवस्थामा वेवारिसे शव फेला पर्ने वितिकै सम्बन्धित परिवारजनलाई चिनाउँदा सनाखत भएको छ ।’’ जिल्ला प्रहरी प्रवक्ता ओलीले भने–‘‘घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको छ, संलग्नहरु चाँडै नियन्त्रणमा आउनेछन् ।’’
मृतकका आफन्त एवं जिल्ला अस्पताल मलंगवाका पूर्व स्वास्थ्यकर्मी मेनीचन्द्र महतोका अनुसार जगन्नाथ आएसँगै गत माघ १ गते बुधबार राती ८ बजेतिर घरबाट बाहिरिएका थिए । गाउँकै रामविर साह तेलीले फोन गरेर बोलाएपछि मृतक महतो घरबाट बाहिरिएको र परिवारसँग सम्पर्क विहिन भएको मेनीचन्द्रले बताए । ‘‘राती घरबाट बाहिरिएपछि लगातार उनको मोबाईलमा फोन ग¥यौं, कहिले घण्टी जाने र नउठ्ने त कहिले उठाएर केही पनि नबोल्ने हुन्थ्यो ।’’ मेनीचन्द्रले सर्लाही दैनिकसँग भने–‘‘फोन गरेर बोलाउने रामविर र मृतक जगन्नाथ दुवैजना एकसाथ गाउँबाट वेपत्ता भएका थिए ।’’
मेनीचन्द्रका अनुसार रामविरले अपहरण गरेको हुन सक्ने आशंकाका साथ मृतकका परिवारजनले इलाका प्रहरी कार्यालय केशरगंजमा लिखित उजुरी दिएका थिए । शव केही गलिसकेको अवस्थामा फेला परेकाले ५–७ दिनअघि नै हत्या गरेर गाडिएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओलीले भने घटनामा संलग्नताको बारेमा एकिन नभईसकेको र गम्भिर ढंगले अनुसन्धान अगाडी बढाईएको बताए । एक श्रीमति सहित दुई छोराका पिता जगन्नाथ गाउँमा ट्रेक्टर व्यवसाय गर्थे भने केही वर्षअघिसम्म उनको गाउँमा धान कुट्ने सेलर मिल समेत रहेको थियो । उनका एक छोरा वैदेशिक रोजगारीमा छन् भने एक छोरा गाउँमै बस्ने गर्दछन् ।
परिवारजनका अनुसार रामवीरसँग जगन्नाथको जग्गा सम्बन्धी किचलो रहेको थियो । मेनीचन्द्रका अनुसार रामवीरले ऋण लिएबापत भारतका एक व्यापारीलाई पास गरिदिएको जग्गा जगन्नाथले किन्ने प्रकृया अगाडी बढाएपछि रामविर जगन्नाथसँग रिसाएका थिए । जगन्नाथ वेपत्ता हुनु १० दिनअघिदेखि रामविरले उनीसँग गहिरो हिमचिम बढाएको र सोही विश्वासमा राती फोनमा बोलाउने वितिकै उनी गएको परिवारजनले बताएका छन् ।

No comments:

Post a Comment