विद्युत कार्यालयमा तोडफोड
सर्लाही समाचारदाता
मलंगवा, माघ ०६ । विल बमोजिम रकम तिरिसकेपनि वक्यौता देखिएको भन्दै सोमबार सदरमुकाम मलंगवाका उपभोक्ताहरुको एक समूहले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको कार्यालय भवनमा सामान्य तोडफोड गरेका छन् ।
पहिला नै तिरेको महिनाको शुल्क पनि पूनः बाँकी रहेको देखिएपछि आक्रोशित भएका उपभोक्ताहरुको समूहले प्राधिकरण वितरण केन्द्रको काउण्टरमा रहेको झ्यालको सिसा फुटाएका हुन् । समूहले प्राधिकरणका कर्मचारीविरुद्ध नाराबाजी समेत गरेका थिए । प्रहरीले तुरुन्तै घटना नियन्त्रणमा लिएकाले तोडफोडले ठूलो रुप लिन पाएन ।
‘‘पुस महिनासम्मको रकम तिरिसकेको छु, माघको विल तिर्न जाँदा त कम्प्यूटरमा पहिलाको पनि २ हजारभन्दा बढी वक्यौता देखियो भनेर कर्मचारीले भने ।’’ मलंगवा–८ निवासी जगन्नाथ सिंह बालकले गुनासो गरे–‘‘मेरो जस्तो समस्या मलंगवाका धेरै उपभोक्ताहरुमा भेटिएको छ ।’’ तिरिसकेको महिनाको पनि बाँकी देखिएपछि आक्रोशित बनेका उपभोक्ताहरुले तोडफोड गरेको सिंहले बताए ।
प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख दिपेन्द्रराज द्विवेदीले विद्युतको विल तयार पार्ने र भुक्तानी लिने लगायतका काम कम्प्यूटरबाटै सुरु भएपछि केही समस्या देखिएपनि तिरिसकेको रकम वक्यौता नदेखिने दावी गरे । ‘‘भर्खरै कम्प्यूटर सिस्टम सुरु गरेका छौं, त्यसैले केही समस्या आउन सक्छ ।’’ उनले भने–‘‘कसैले तिरिसकेको महिनाको रकम पूनः बाँकी रहेको भनेर त देखिदै देखिदैन ।’’ वर्षौं विद्युत महसुल नतिर्नेहरुले अनावश्यक वखेडा निकालेको र त्यसैको लहैलहैमा कतिपय उपभोक्ताहरु लागेको उनको भनाई छ । तिरिसकेको विलको पनि पूनः बाँकी देखिएको भए प्रमाण पेश गर्न समेत प्राधिकरण प्रमुख द्विवेदीले चुनौती दिए । ‘‘बाँकी देखिएको महिनाको तिरिसकेको भए प्रमाण पेश गर्नुहोस् ।’’ उनले भने–‘‘त्यसमा दोषि देखिने कर्मचारीमाथि कार्वाही गर्छु ।’’
उपभोक्ताहरुले भने कम्प्यूटरमा काम गर्ने कर्मचारीको लापरवाहीले तिरिसकेको महिनाको पनि बाँकी देखिएको आरोप लगाए ।
यसैबीच लोडसेडिङभन्दा बाहेकको समयमा पनि विद्युत नदिएको भन्दै आक्रोशित कविलासी गाविस स्थित सिर्सियाका उपभोक्ताहरुले नवलपुर–मलंगवा सडकखण्डमा सोमबार केहीबेर अवरोध गरेका छन् । तोकिएको भन्दा बढी विद्युत कटौती भएको भन्दै स्थानीय उपभोक्ताहरुले गरेको अवरोध स्थानीय स्तरमा छलफल गराएर हटाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए । ‘‘भोली प्राधिकरणमा आएर समस्याबारेमा अवगत गराउँदै आवश्यक प्रकृया अगाडी बढाउने सहमतिमा अवरोध खुलाईयो ।’’ प्रहरी प्रवक्ता ओलीले सोमबार सर्लाही दैनिकसँग भने ।
No comments:
Post a Comment