उमावि छतौनालाई दुतावासको साँढे ४ करोड
सर्लाही समाचारदाता
हरिवन, माघ १७ । नेपालका लागि भारतीय दुतावासले सर्लाहीको एक विद्यालयलाई नयाँ भवन निर्माणका लागि करोडौ सहयोग गर्ने भएको छ । यसअघि नै सर्लाहीका आधा दर्जन हाराहारी विद्यालयमा भवन निर्माणका लागि सहयोग दिईसकेको दुतावासले उमावि छतौनाको लागि झण्डै साँढे ४ करोड सहयोग गर्ने भएको हो । उक्त विद्यालयको भवन निर्माण कार्यका लागि शुक्रबार जिल्ला विकास समितिको कार्यालयसँग भारतीय दुतावासले लिखित सम्झौता समेत गरेको छ ।
दुतावास अन्तर्गत आर्थिक विभागका काउन्सिलर पियूष श्रीवास्तव र जिल्ला विकास समितिको कार्यालय सर्लाहीका स्थानीय विकास अधिकारी उमेश बस्नेतबीच शुक्रबार सुधा राजेश्वर उमावि छतौनाको विद्यालय भवन निर्माणका लागि सहयोग रकम आदानप्रदान बारे सम्झौता भएको छ । सम्झौता अनुसार दुतावासले विद्यालय भवनका लागि ४ करोड ३४ लाख ३७ हजार रुपैया उपलब्ध गराउने छ ।
१८ कोठे विद्यालय भवन, फर्निचर, शिक्षक–कर्मचारी एवं छात्र र छात्राको छुट्टाछुट्टै सौचालय, खानेपानी, कम्पाउण्ड पर्खाल लगायत निर्माणका लागि दुतावासको सहयोग रकम खर्च हुने स्थानीय विकास अधिकारी बस्नेतले बताए । ‘‘अब विद्यालयको नयाँ भवन निर्माणको प्रकृया चाँडै सुरु गर्छौं ।’’ बस्नेतले सर्लाही दैनिकसँग टेलिफोनमा भने–‘‘मुल्यांकन, लगत इस्टमेट लगायतका कामहरु सकेर भवन निर्माणका लागि टेण्डर आव्हान गर्नेछौं ।’’
निर्माण कार्य जिविसकै मातहतमा हुनेछ । निर्माण कार्य सुरु भएको १५ महिनाभित्र काम सक्ने सम्झौतामा उल्लेख भएको स्थानीय विकास अधिकारी बस्नेतले बताए । सहयोग रकम उपलब्ध गराउने सम्बन्धि सम्झौतामा भारतीय दुतावास काठमाण्डौमा दुतावासका काउन्सिलर श्रीवास्तव र स्थानीय विकास अधिकारी बस्नेतबीच हस्ताक्षर भएको हो ।
दुईपक्षबीच सम्झौतामा हस्ताक्षर हुँदा भर्खरै सम्पन्न संविधान सभामा सर्लाहीको क्षेत्र नं. ६ बाट प्रत्यक्षतर्फ निर्वाचित नेपाली कांग्रेसका सभासद् डा. अमरेशकुमार सिंहको समेत उपस्थिती रहेको थियो । सभासद् डा. सिंहकै पहलमा दुतावासले सो सहयोग उपलब्ध गराएको बताईएको छ । उमावि छतौना क्षेत्र नं. ६ अन्तर्गत नै पर्दछ ।
No comments:
Post a Comment