Sunday, January 26, 2014

भन्सार प्रमुख कुटपीटमा तीन पुगे

भन्सार प्रमुख कुटपीटमा तीन पुगे
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । सर्लाही भन्सार कार्यालय प्रमुख टिकाराम भुसालमाथि कुटपीट गरेको आरोपमा प्रहरीले आइतबार थप दुईजनालाई पक्राउ गरेको छ । योसँगै उक्त अभियोगमा पक्राउ पर्नेहरु तीनजना पुगेका छन् ।
मलंगवा नगरपालिका–२ निवासी २४ वर्षिय सुवोधकुमार साह र २२ वर्षिय धिरेन्द्र साहलाई सदरमुकाम मलंगवा स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए । यसअघि गत शुक्रबार मलंगवा नगरपालिका–२ निवासी करिब ३० वर्षिय नागेन्द्र ठाकुरलाई प्रहरीले सोही अभियोगमा पक्राउ गरिसकेको छ ।
पक्राउ परेका तीनजनालाई आइतबार नै जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद थप गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएको प्रवक्ता ओलीले बताए । कुटपीटमा संलग्न अन्यको पनि खोजी कार्य तिब्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।
आप्mनो कार्यकक्षमा बसिरहेको अवस्थामा गत सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले आफूमाथि कुटपीट गरेको भन्दै भन्सार प्रमुख भुसालले जिल्ला सुरक्षा समितिमा नै लिखित जानकारीदिएको थिए । कार्यालय प्रमुखमाथि हातपात सहित दुव्र्यवहार भएको भन्दै भन्सारका कर्मचारीहरु विरोधमा उत्रिएका थिए । कार्यालय प्रमुखमाथि हातपात गर्ने दोषिमाथि कार्वाही नभएसम्म अनिश्चित कालका लागि काम बन्द गरिएको सूचना कार्यालयको मूलगेटमा टाँस गरेर भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । कर्मचारी आन्दोलनका कारण चारदिनसम्म ठप्प रहेको भन्सार विहिबार साँझ ४ बजेबाट सुचारु भएको थियो । गृह सचिव, अर्थ सचिव, भन्सार विभागका महानिर्देशक, सर्लाही भन्सार प्रमुख भुषाल, भन्सार कार्यालय सम्बद्ध कर्मचारी ट्रेड युनियन सम्बद्ध नेताहरु लगायतको संयुक्त बैठकमा कुटपीटमा संलग्न दोषिहरु नियन्त्रणमा लिएर कार्वाही गर्ने प्रतिवद्धता आएपछि आन्दोलन तत्कालका लागि स्थगीत भएको थियो ।
आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समूहले भुसालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।
भन्सार प्रमुख भुषालले आप्mनै माथिल्लो निकायमा दिएको नामका आधारमा अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । भुषालले भन्सार विभागका महानिर्देशकलाई दिएको नामका आधारमा गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन अनुसार ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । भुषालले सर्लाही स्थित प्रहरी प्रशासनलाई भने सामान्य हुलिया बाहेक कुटपीटमा संलग्नहरुको नामावली दिएका थिएनन् ।
पक्राउ परेका तीनजना नै ठाकुर भारतबाट नेपालतर्फ सामान तस्करी गर्ने काममा संलग्न रहेको प्रहरी स्रोतले दावी गरेको छ । स्रोतका अनुसार प्रहरीले सदरमुकाम मलंगवाबाट पक्राउ परेको भनेपनि उनीहरुलाई भारतीय प्रहरीको समन्वयमा सोनवर्षा क्षेत्रबाट नियन्त्रणमा लिईएको हो ।
‘‘भन्सार प्रमुख भुषालमाथि कुटपीट भएकै राती उनीहरु सोनवर्षा स्थित एक व्यापारीको घरमा पार्टी गरिरहेको खबर आएको थियो ।’’ प्रहरी स्रोतले भन्यो–‘‘भारतीय प्रहरीसँग समन्वय गरेर राती नै छापा हान्ने प्रयास गर्दा त्यहाँ त सितामाढी जिल्लाका प्रहरी प्रमुखले समेत आँट गर्न नसक्ने घर पो रहेछ ।’’ लामो कसरत पछि भारतीय प्रहरीकै समन्वयमा सोनवर्षा वजार क्षेत्रमा घुमिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एक सुरक्षाकर्मीले बताए । ‘‘आधिकारिक रुपमा भारतीय क्षेत्रमा पक्राउ गरेको देखाउन नमिल्ने हुनाले बसपार्क क्षेत्र देखाईएको हो ।’’ ती सुरक्षाकर्मीले भने–‘‘अपराधपछि भारतमा नै लुकेर बस्नेहरुलाई पनि पक्राउ गर्न हामी पछि पर्दैनौं ।’’

No comments:

Post a Comment