जगन्नाथको हत्या भन्दै किटानी जाहेरी
सर्लाही समाचारदाता
मलंगवा, माघ १३ । खाडलमा गाडिएको अवस्थामा शव फेला परेका बबरगंज गाविसका जगन्नाथ महतोको हत्यामा संलग्न रहेको दावी सहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ ।
बबरगंज गाविस–८ का रामविर साह सहितले हत्या गरेको भन्दै मृतकका भाई विश्वनाथ महतोले सोमबार किटानी जाहेरी दिएका हुन् । बाह्र दिनदेखि वेपत्ता बबरगंज गाविस–८ निवासी करिब ४२ वर्षिय जगन्नाथ महतोको शव गाउँ नजिकै आँपको बगैचामा गाडिएको अवस्थामा आईतबार साँझ फेला परेको थियो ।
गत माघ १ गते बुधबार राती साँढे ८ बजे रामविर साहले फोन गरेर बोलाएपछि घरबाट बाहिरिएका मृतक महतो वेपत्ता भएका थिए । फोनबाट बोलाएर नियन्त्रणमा लिई साहले नै हत्या गरेको किटानी जाहेरीमा दावी गरिएको छ ।
मृतक महतोको हत्या कसरी भयो भन्ने बारेमा भने पोष्टमार्टम प्रतिवेदन नआई भन्न
नसकिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । ‘‘लास गलिसकेको अवस्थामा भएकाले बाहिरबाट देखिएको भरमा हत्या के गरी भएको थियो भन्ने खुल्न सकेको छैन ।’’ ओलीले भने–‘‘पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ ।’’ लासको अवस्था हेर्दा ९–१० दिनअघि नै हत्या गरेर गाडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतकका आफन्तका अनुसार गाउँका बालबालिका खेल्दै जाने क्रममा खाल्डो खनेर गाडिएको स्थानमा हात मात्र बाहिर निस्केको देखेपछि खनेर हेर्दा महतोको शव फेला परेको हो । खाल्डो खनेर माटोले पुरेको शवलाई स्यालले खनेपछि एउटा हात बाहिर निस्केको अनुमान गरिएको छ । प्रहरीले पछि पहिचान गराउँदा आफन्तहरुले जगन्नाथकै शव भएको बताएका थिए । दुर्गा जनता मावि छेउमा रहेको बँगैचा स्थित जरै सहितको आँपको बोट काट्दा खनेको खाडलमा उनलाई पुरिएको थियो ।
हत्यामा संलग्नहरुको तिब्र रुपमा खोजी भईरहेको प्रवक्ता ओलीले बताए । ‘‘दुईचार दिनभित्रै हत्यामा संलग्नहरु नियन्त्रणमा आउनेछन् ।’’ ओलीले दावी गरे ।
सोमबार अपरान्ह मृतक महतोको परम्परा अनुसार झिम नदीमा दाहसंस्कार गरिएको उनका आफन्त मेनीचन्द्र महतोले बताए । मेनीचन्द्रका अनुसार मृतक महतोका दुवै छोरा वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेकाले उनका भतिजा किरियापुत्रीको रुपमा बसेका छन् ।
No comments:
Post a Comment