साक्षरतामा एकसय ६ को आवेदन
सर्लाही समाचारदाता
मलंगवा, माघ १४ । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्न लागेको साक्षरता अभियान अन्तर्गत साक्षरता कक्षाका लागि १ सय ६ वटा गैर सरकारी संस्था एवं सामुदायिक अध्ययन केन्द्रहरुले आवेदन गरेका छन् ।
स्रोत केन्द्रहरु रहेको ११ वटा गाविसमा साक्षरता कक्षा सञ्चालन गर्नका लागि आव्हान भएको सूचना अनुसार आवेदन परेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । गडहिया डुमरिया, गोडैता, मलंगवा, बरहथवा, मदनपुर, हरिपुर, हरिपूर्वा, भक्तिपुर, सुखेपोखरी, इश्वरपुर र परवानीपुर स्रोतकेन्द्र रहेका ११ गाविसहरुमा सञ्चालन गरिने साक्षरता कक्षाका लागि १ सय ६ वटा संस्थाहरुबाट आवेदन परेको हो ।
शिक्षा कार्यालयले माघ १० गतेबाट कक्षा सञ्चालन गर्नेगरी गत पुस ११ गते सूचना प्रकाशित गरेको भएपनि साक्षरता कक्षाका लागि आवश्यक पर्ने किताव लगायतका सामग्री तयार नभईसकेकाले आगामी फागनु १ गतेबाट सुरु गर्ने तयारी भएको बताईएको छ । निकै वर्षदेखि नविकरण नभएका संस्थाहरुले समेत साक्षरता कक्षाका लागि तत्काल नविकरण गरेर आवेदन दिएको शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयले आवेदन दिएका संस्थाहरुले साक्षरता कक्षा सञ्चालनका लागि सम्बन्धित गाविसको निरक्षरहरुको नामावली, पछिल्लो आवको लेखा परिक्षण प्रतिवेदन, सम्बन्धित निकायबाट पछिल्लोपटक नविकरण गरेको प्रमाण, कम्तीमा ३० प्रतिशत निरक्षरलाई साक्षर बनाउनका लागि संस्थाले बेहोर्ने आर्थिक ग्यारेन्टी लगायतको कागजातहरु पेश गर्नुपर्ने र सो नभएका संस्थाहरुलाई साक्षरता कोटा नदिईने कार्यालयले बतायो । अन्य कागजात परिक्षणका साथै आर्थिक ग्यारेण्टीका लागि संस्थाहरुको खातामा कति रकम छ भन्ने बारेमा नेबैली लगायत वितिय संस्थाहरुमा बुझ्ने काम भईरहेको शिक्षा कार्यालयले जनाएको छ । आवेदन दिएका १ सय ६ वटा मध्ये ६० वटा हाराहारी संस्थाहरुलाई मात्र साक्षरता कोटा पर्ने शिक्षा कार्यालय स्रोतले जनायो ।
११ गाविसका जम्मा २५ हजार ९ सय ६१ जनालाई साक्षर बनाउने गरी शिक्षा कार्यालयबाट साक्षरता अभियान सुरु हुन लागेको हो । जसमध्ये आवेदन दिएका संस्थाहरु स्वयंले आप्mनो लगानीमा ७ हजार ७ सय ९१ जनालाई साक्षर बनाउनु पर्नेछ । साक्षरता कक्षाका लागि मासिक दुईहजार पाउने गरी जम्मा १ हजार २ सय ९८ जना स्वयं सेवक परिचालन हुने र सम्बन्धित संस्थाहरुले ३ सय ९३ जना स्वयंसेवकहरुको आर्थिक व्ययभार बहन गर्नुपर्ने शिक्षा कार्यालयले जनाएको छ । ३ महिनो उक्त साक्षरता अभियान सकिएपछि ११ वटा गाविसलाई निरक्षर मुक्त गाविस घोषणा गरिनेछ ।
No comments:
Post a Comment