‘घुस खाने प्रहरीको जागिर खाईदिन्छु’
सर्लाही समाचारदाता
मलंगवा, माघ ८ । नेपाल प्रहरीका मध्यमाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रकाश अर्यालले मातहतका सुरक्षाकर्मीलाई आचरण नसुधारे कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । बुधबार विहान जिल्ला प्रहरी कार्यालय मलंगवामा प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक सहित उपस्थित सुरक्षाकर्मीहरुलाई निर्देशन दिँदै डिआईजी अर्यालले ‘घुस’ खाने मातहतका जस्तोसुकै सुरक्षाकर्मीको ‘जागीरै खाईदिने’ समेत चेतावनी दिए ।
डिआईजी अर्यालले विशेषगरी सुरक्षाकर्मीको आचरण सुधार र तस्करी नियन्त्रण लगायतमा बढी जोड दिदै कडा ढंगले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताएका छन् । ‘‘१० रुपैयाँ होस वा १० लाख घुस खाओस् कसुर एउटै हो ।’’ निर्देशनका क्रममा डिआईजी अर्यालको भनाई उदृत गर्दै ती प्रहरी अधिकृतले भने–‘‘भोली १० रुपैंयामा जागिर गयो भन्दै मसँग गुनासो गर्न नआउनु ।’’
उनले आफू हेटौंडामा भएको र केही थाहा नपाउने भनेर नसोच्न समेत सर्लाहीका सुरक्षाकर्मीहरुलाई सजग गराए । ‘‘म हेटौंडामा छु भनेर सर्लाहीमा अनियमितता गर्ने कष्ट नगर्नु ।’’ डिआईजीले सजग गराए–‘‘मेरा सूचना स्रोतहरु जताततै छरिएका छन्, आचरण विपरित काम गर्नेहरु कुनैपनि वेला कार्वाहीमा पर्छन् ।’’
डिआईजी अर्यालले भारतबाट सामान आयातमा हुने गरेको अवैध कार्यलाई निरुत्साहित गर्न समेत निर्देशन दिए । ‘‘प्रहरीले ‘लाईन’ दिएर सर्लाहीका विभिन्न नाकाबाट तस्करमार्फत भारतीय सामानहरु अवैध रुपमा भित्रीने गरेको सुनेको छु ।’’ उनले जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए–‘‘त्यस्ता अनियमित कार्यहरु तुरुन्त बन्द हुनुपर्छ ।’’ कुनै सुरक्षाकर्मीको आचरण विपरित एवं अनियमित कार्यले समग्र नेपाल प्रहरीकै विश्वासमा धुमिल आउने उल्लेख गर्दै डिआईजी अर्यालले आचरण विपरितका कामहरु बन्द गर्न निर्देशन दिए । भारतबाट तस्करहरुलाई लाईन दिने विषयमै किचलो हुँदा तस्करी गर्ने एक समूहले भन्सार प्रमुखलाई कुटपीट गरेको घटनामा भन्सार कार्यालय ठप्प रहिरहेकै अवस्थामा डिआईजी अर्यालको यस्तो निर्देशन आएको हो । मंगलबार अपरान्ह सर्लाही प्रवेश गरेका डिआईजी अर्याल इलाका प्रहरी कार्यालय बरहथवा, हरकठवा, गढैया र बलरामा स्थलगत निरिक्षण एवं निर्देशन दिदै राती सदरमुकाम मलंगवा पुगेका हुन् । मंगलबार राती डिआईजी अर्याल सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय मै बास बसेका थिए ।
बुधबार विहान जिल्ला प्रहरी कार्यालयमा निरीक्षण एवं आवश्यक निर्देशन पश्चात विहान साँढे ९ बजेतिर हुलाकी सडकबाट संग्रामपुर हुँदै डिआईजी अर्याल महोत्तरीतर्फ लागेका छन् । महोत्तरी जाने क्रममा डिआईजी अर्यालयले सिमा प्रहरी चौकी संग्रामपुरमा समेत निरीक्षण र निर्देशन दिएका छन् । विशेषगरी भारतक्षेत्रसँग नजिक जोडिएको र सिमा प्रहरी ईकाई समेत रहेकाले संग्रामपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई तस्करी नियन्त्रणमा दतचित्त भएर लाग्न निर्देशन दिएको बताईएको छ ।
महोत्तरीबाट फर्कने क्रममा इलाका प्रहरी कार्यालय केशरगंज, लालबन्दी, नवलपुर, हरिवन लगायतमा पनि निरीक्षण र आवश्यक निर्देशन दिने कार्यक्रम रहेको बताईएको छ । मध्य क्षेत्रीय प्रहरी कार्यालयमा सरुवा भएर आउने वितिकै डिआईजी अर्यालले विभिन्न २२ बुँदे निर्णय गरेको र सोही निर्णयहरु अक्षरसः पालना गर्न भन्दै ईकाईहरुमा निर्देशन समेत दिने गरेका छन् ।
No comments:
Post a Comment