Tuesday, January 21, 2014

प्रमुख कुटिएको विरोधमा भन्सार ठप्प

प्रमुख कुटिएको विरोधमा भन्सार ठप्प
सर्लाही समाचारदाता
मलंगवा, माघ ०७ । कार्यालय प्रमुख टिकाराम भुषालमाथि कुटपीट भएको विरोधमा कर्मचारीहरुले काम नगरेपछि सदरमुकाम मलंगवा स्थित सर्लाही भन्सार कार्यालय मंगलबार दिनभर ठप्प रह्यो ।
कुटपीटमा संलग्न दोषिहरुमाथि कडा कार्वाही नभएसम्म कार्यालयमा काम नगर्ने भन्दै भन्सारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले विरोध जनाएका हुन् । अनिश्चितकालका लागि काम बन्द गरिएको व्यहोरायुक्त त्यहाँ कार्यरत सबै कर्मचारीहरुको हस्ताक्षर सहितको सूचना भन्सारको मूलगेटमा टाँस गरिएको छ ।
कार्यकक्षमा बसिरहेको अवस्थामा सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले भन्सार प्रमुख भुषालमाथि हातपात सहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।   आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवननगर स्थित छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समुहले भुषालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।
लिलामी स्थगित
कर्मचारीहरुले काम नगरेपछि सर्लाही भन्सारबाट हुन लागेको सवारी साधनहरुको लिलामी प्रकृया रोकिएको छ । चारपांग्रे विभिन्न खाले जीप एवं मोटरसाईकल गरी ८८ वटा सवारी साधनको लिलामी प्रकृया रोकिएको भन्सार प्रमुख भुषालले बताए ।
प्रमुख भुषालका अनुसार मंगलबार १२ बजेसम्म टेण्डर फारम खरिद गर्ने र बुधबार १२ बजेसम्म दर्ता गर्ने अनि बुधबार नै २ बजे टेण्डर खोल्ने गरि गोरखापत्रमा सवारी साधनहरुको लिलाम सम्बन्धि सूचना प्रकाशित भएको थियो । तर सोमबार अपरान्हबाट आंशिक र मंगलबारबाट पूर्ण रुपले कार्यालयमा काम बन्द भएपछि लिलामीको प्रकृया अवरुद्ध भएको छ । ‘‘कार्यालयमा काम गर्ने वातावरण नै नभएपछि हाललाई नियमित सहित पूर्वनिर्धारित प्रकृयाहरु समेत स्थगित भएको छ ।’’ भुषालले मंगलबार सर्लाही दैनिकसँग भने–‘‘लिलामीको प्रकृया अर्को सूचना नभएसम्म स्थगित भएको छ ।’’ लिलामीका लागि गोरखापत्रमा सूचना प्रकाशित गर्दा मात्रै कार्यालयलाई लाखौं भुक्तानी व्ययभार भईसकेको छ ।
त्यस्तै दैनिक कामकार्वाही बन्द हुँदा भन्सारबाट हुने लाखौं राजश्व संकलन कार्य समेत प्रभावित भएको छ । भारतबाट पैठारी गरिने र भारततर्फ निकासी गरिने सामानहरुमा लगाईने विभिन्न खाले महसुलवापत मलंगवा भन्सारबाट दैनिक ३ लाख हाराहारीमा राजश्व संकलन हुने गर्दछ ।

No comments:

Post a Comment