अनुगमन टोलीलाई निर्देशन
सर्लाही समाचारदाता
मलंगवा, चैत ०५ । एसएलसी परीक्षा समन्वय समिति सर्लाहीले ६ वटा क्षेत्रमा एसएलसी परीक्षा अनुगमनका लागि गठन गरेको टोलीलाई आज आवश्यक निर्देशन एवं जिम्मेवारी दिएको छ ।
एसएलसी परीक्षा निर्देशिका अनुसार काम, कर्तव्य र अधिकारबारे अनुगमन टोलीका संयोजक सहित सदस्यहरुलाई समेत जानकारी गराइएको र लिखित जिम्मेवारी समेत दिईएको हो । परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सम्पन्न गर्नका लागि एसएलसी परीक्षा समन्वय समिति सर्लाहीले ६ वटा क्षेत्रमा अनुगमन गर्न छुट्टाछुट्टै टोली तयार पारेको छ ।
क्षेत्र नं. १ मा इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख मदनप्रसाद पराजुली नेतृत्वको टोली, क्षेत्र नं. २ मा जनताको तटबन्ध कार्यालय प्रमुख देवेन्द्र साह नेतृत्वको टोली, क्षेत्र नं. ३ मा वागमति सिचाई आयोजनाका लेखा अधिकृत शिवप्रसाद अधिकारी, क्षेत्र नं. ४ मा डिभिजन सिचाई कार्यालय मलंगवाका प्रमुख शैलेन्द्रकुमार झा, क्षेत्र नं. ५ मा सागरनाथ वन विकास परियोजना प्रमुख हेमराज अर्याल र क्षेत्र नं. ६ मा स्थानीय विकास अधिकारी उमेश बस्नेतको नेतृत्वमा अनुगमन टोली खट्ने प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए ।
जिल्ला शिक्षा अधिकारी विश्वकर्माले अनुगमन टोलीका संयोजक एवं सदस्यहरुलाई बुधबार कार्यालय प्रमुखहरुको बैठकको अवसर पारेर आवश्यक जानकारी एवं जिम्मेवारी दिईएको जानकारी दिए । परीक्षा केन्द्र आसपास अमर्यादित क्रियाक्लाप गर्ने, हुलहुज्जत गर्ने लगायत नियम विपरितका क्रियाक्लाप गर्नेहरुलाई नियन्त्रणमा लिने, परीक्षामा सहभागि विद्यार्थीले आचरण एवं नियम विपरित कार्य गरेको फेला पारेमा आवश्यक कार्वाही गर्ने अधिकार समेत टोलीलाई दिईएको प्रजिअ घिमिरेले बताए ।
परीक्षामा विद्यार्थीले चिट चोरेको वा कुनैपनि अनियमितता हुने कार्य गरेको पाइएमा तत्काल त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी कारबाही गरिने र यस्ता परीक्षार्थीको तत्काल परीक्षा रद्द गरी आगामी वर्षसमेत परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने व्यवस्था गरिएको परीक्षा समन्वय समितिले जनाएको छ । त्यसैगरी परीक्षा केन्द्रमा कुनै पनि कर्मचारीले अनियमितता गरेको पाइएमा र परीक्षा केन्द्रमा जबर्जस्ती प्रवेश गर्न खोज्ने र अशान्ति फैलाउनेलाई तत्काल नियन्त्रणमा लिएर एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
No comments:
Post a Comment