औरही, चैत्र १७ । अव्यवस्थित चुलोको प्रयोग गर्दा लाग्ने विभिन्न प्रकारको श्वासप्रश्वास सम्बन्धी रोगलाई न्युनीकरण गर्नका लागि सर्लाहीको विभिन्न गाविसमा अहिले सुधारिएको चुलो निर्माण सम्बन्धि तालिम संचालन गरिएको छ ।
नविकरणिय उर्जा खानेपानी तथा सरसफाई प्रवद्र्धन केन्द्र चन्द्रनिगाहपुरले हालै सर्लाहीको औरहीमा सुधारिएको चुलो निर्माण सम्बन्धि ७ दिने तालिम संचालन गरेको छ । १० गाविसका ३२ जना महिलालाई चुलो निर्माण सम्बन्धि तालिम सुरु गरिएको कार्यक्रमका प्रशिक्षक जितेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
श्री जनता माध्यमिक विद्यालय औरही ४ मा संचालन गरिएको तालिममा औहरी, खोरिया, सुन्दरपुर, मोतीपुर, सेखौना, पडरिया, सिसौटिया, बेल्ही, सहोडवा तथा धनगढा गाविसका महिलाहरुको सहभागिता रहेको छ । प्रशिक्षणमा महिलाहरुलाई कसरी चुलो बनाउने भन्ने बारेमा जानकारी दिई, प्रशिक्षण स्थलमै बनाउन समेत लगाउने गरिएको छ । प्रत्येक गाविसबाट आएका महिलाले तालिम लिई आफ्नो गाउँघरमा अन्यलाई प्रशिक्षण दिने उदेश्य राखिएको प्रशिक्षक सिंहको कथन छ । तालिम निःशुल्क रुपमा दिइएको सिंहले बताए । सुधारिएको चुलो निर्माणले निमोनिया, दम, क्षयरोग तथा विभिन्न श्वासप्रश्वासको रोगबाट बच्नुको साथै दाउराको बचत र छिटो खाना पाक्ने भएकोले तालिम संचालन गरिएको हो । यस कार्यक्रम अन्तर्गत जिल्लाको ९९ गाविसमा चुलो निर्माण सम्बन्धि तालिम दिने संस्थाको योजना रहेको सिंहले बताए । कार्यक्रममा सिंहका साथै बच्चु पासवानले पनि प्रशिक्षण दिने गरेका छन् ।
No comments:
Post a Comment