Friday, March 21, 2014

काठ चिर्दाचिर्दै चारजना पक्राउ

काठ चिर्दाचिर्दै चारजना पक्राउ
सर्लाही समाचारदाता
लालबन्दी, चैत ०४ । वन कर्मचारी र प्रहरीको संयुक्त टोलीले मंगलबार लालबन्दी गाविस–४ स्थित जंगलटोलबाट सालको काठ चिर्दाचिर्दै चारजनालाई पक्राउ गरेको छ ।
इलाका वन कार्यालय फूलजोर र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त बस्तीमा राखिएका अवैध सालका काठहरु खोजतलास गरेको थियो । त्यसक्रममा टोलीले सालको टुना चिर्दै गरेको अवस्थामा चारजनालाई पक्राउ गरेको हो । हाल उनीहरुलाई जिल्ला वन कार्यालयमा राखिएको छ ।
पक्राउ पर्नेमा जब्दी गाविस–७ करैयाका कुशुमनारायण चौधरी, राजनारयाण चौधरी, लालबन्दी गाविस–४ का कालुमान घिसिङ र कुमार लामा रहेको इलाका वन कार्यालय फूलजोरका प्रमुख सहायक वन अधिकृत केदारबहादुर कार्कीले बताए । त्यस्तै टोलीले काठ चिर्न प्रयोग भएका दुईथान आरा, दुईथान बन्चरो र एकथान साईकल समेत बरामद् गरेको छ ।
सशस्त्र वन सुरक्षा शाखा फूलजोरका सुरक्षाकर्मीहरु समेत सहभागि टोलीले तीन ट्रयाक्टर सालका टुना एवं चिरेका काठहरु बरामद् गरेको छ । घर भित्र, बारीमा लुकाएर राखिएका र चिर्न खोजिरहेको अवस्थामा सालका काठहरु बरामद् गरिएको सहायक वन अधिकृत कार्कीले बताए । बरामद् काठ नजिकै रहेको साझेदार वन क्षेत्रबाट सालका रुखहरु चोरी तस्करी गरेर ल्याईएको अनुमान गरिएको छ । काठ तस्करी कार्यमा संलग्न मुख्य अभियुक्तहरुको खोजी कार्य समेत भईरहेको सहायक वन अधिकृत कार्कीले बताए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय हरिवनको गस्ती टोलीले मंगलबार विहान तीनबजे घुर्कौली–६ बाट सालको काठ बोकेको टायरगाढा नियन्त्रणमा लिएको छ । टायरगाढामा विभिन्न साईजका ११ वटा फल्ली रहेको र टायरगाढा चलाउने सन्तलाला पाख्रीनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद् काठ र पक्राउ पाख्रीनलाई मंगलबार नै इलाका वन कार्यालय हरिवनको जिम्मा लगाईएको हरिवन प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment