मकैका घोगामा दाना लागेन, किसान चिन्तित्
लालबन्दीमा दाना नलागेका मकैका घोगा प्रदर्शन गर्दै किसानहरु । | (तस्वीर ः शशी देवकोटा÷सर्लाही दैनिक) |
लालबन्दी, चैत ०९ । मकैको घोगामा दाना नलागेको भन्दै किसानहरुले आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा प्रदर्शन गरेका छन् । काट्ने बेला भएका मकैमा दाना नलागेपछि ‘थोता’ मकैका घोगा बोकेर पत्थरकोट र अत्रौलीका किसानहरुले लालबन्दीमा प्रदर्शन गरेका हुन् । लालबन्दीका प्रत्येक विउ बिक्रेता पसलमा समेत पुगेर किसानहरुले विरोध प्रदर्शन गरेका थिए ।
जिल्लाको उत्तरी क्षेत्र स्थित अत्रौली, पत्थरकोट, परवानीपुर गाविस लगायतको करिब २० हेक्टर क्षेत्रफलमा खेती गरिएको मकैको घोगामा दाना नलागेको किसानहरुले बताएका छन् । बाली भित्र्याउने समयमा बोटमा दाना नै नलागे पछि मकै खेती गर्ने किसानहरु चिन्तीत बनेका छन् ।
आफूले दुई बिघामा लगाएको मकैको घोगामा दाना नलागेको पत्थरकोट गाविस–९ जियाजोरका राजेन्द्र थापाले बताए । “दुई बिघा जमिनमा ६० हजार भन्दा बढी खर्च गरेर मकै खेती गरीयो तर बाली भित्र्याउने समयमा बोटमा दाना नै छैन ।” उनले सर्लाही दैनिकसँग भने–“साह्रै मर्कामा परियो, नाफाको त कुरै छोडौं आफुले गरेको लगानी समेत डुब्ने भयो ।”
विशेषगरि ‘राजकुमार’ जातको मकैको घोगामा दाना नलागेको थापाले बताए । गतबर्ष देखी यो जातको बालीमा गुणस्तर घट्दै गएको र यसपाली दाना नै नलागेको उनले गुनासो गरे । ‘‘राजकुमार जातको मकै खेती गरीएको क्षेत्रमा सबै मकैका बोटमा घोगा लागेको छ, तर दाना भने छैन ।’’ थापाले भने–‘‘२ वर्ष अगाडीसम्म त्यो जातको बीउबाट प्रति कठ्ठा ३ क्वीन्टलसम्म मकै फल्ने गरेको थियो ।’’ अघिल्लो वर्षसम्म उक्त जातको मकैको खोया रातो हुने गरेपनि यो पटक भने खोया पनि सेतो भएको र दाना पनि नलागेको किसानहरु बताउँछन् ।
किसानहरुले स्थानीय बजारको कृषी सेवाबाट बीउ, बिजन आदी खरिद गर्ने गरेका छन् । लालबन्दी स्थित गौतम कृषी सेवा केन्द्रका संचालक दिलिप गौतमले आफुले सरकारले सिफारीस गरेको जातको बीउहरु मात्र बेच्ने गरेको दाबी गर्दै किसानहरुले क्षतीपूर्ती पाउनु पर्ने बताए । “सरकारले सिफारीस गरेको मकैको बिउ बेचेको हो, गुणस्तरको बारेमा त सरकारले ध्यान दिनु पर्ने हो नि, त्यसैले किसानहरुले क्षतीपूर्ती पाउनु पर्छ ।”
अत्रौलीका बृद्ध किसान गोपाल गिरीले डेढ बिघा जमिन भाडामा लिएर राजकुमार जातको मकै मात्र लगाएको र घोगामा दाना नलाग्दा ऋणले डुब्ने अवस्था आएको गुनासो गरे । ‘‘भाडा वापतको ९० हजार जमिन धनीलाई तिर्नुपर्ने छ । ब्याजमा ऋण लिएर खेतीमा खर्च गरेको ५० हजार छुट्टै छ ।’’ उनले चिन्ता व्यक्त गरे–‘‘अब त घरबास नै उठ्ने भयो ।’’ अधिकांश किसानले सयकडा ३ रुपैयाँ (बार्षिक ३६ प्रतिशत) मा ऋण लिएर मकै खेती गर्ने गरेका छन् । पीडित किसानहरुले उचित क्षतिपूर्तिका माग गरेका छन् । क्षतिपूर्ति नपाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएको छन् ।
विउ बिक्रेता दिलीप गौतमले पहिलो पटक राजकुमार जातको विउमा दाना नलाग्ने समस्या आएको वताए । उनले सिफारीस जातकै विउ भएको उल्लेख गर्दै किसानलाई परेको मर्काका वारेमा विउ उत्पादक कम्पनीलाई सुचित गर्ने प्रतिवद्धता जनाए ।
जिल्ला कृषी कार्यालयका कार्यालय प्रमुख युगल किसोर तिवारीले मकैमा दाना नलागेको विषयमा अनुसन्धान भईरहेको बताए । कार्यालयबाट बाली विकास अधिकृत, कृषि प्रसार अधिकृत सहितको तीन सदस्यीय टोलीले आइतबार नै किसानहरुको खेतमा स्थलगत अवलोकन गरेको र आफू पनि सोमबार उक्त क्षेत्रमा स्थलगत अवलोकनका लागि जाने तिवारीले जानकारी दिए । ‘‘प्रारम्भिक रुपमा हेर्दा ‘डेट एक्स्पायर’ भएका मकैको विउ छरेको भेटिएको छ ।’’ तिवारीले आइतबार सर्लाही दैनिकसँग भने–‘‘भोली स्थलगत रुपमा हेरेपछि विस्तृतमा भन्न सकिन्छ ।’’
केही वर्षअघि शंकरपुर, राजघाट, हजरिया लगायत विभिन्न गाविसमा समेत मकैका घोगामा दाना नलाग्दा किसानहरु पीडित बनेका थिए । पछि सरकारले पीडित किसानहरुलाई विभिन्न किसिमले राहत उपलब्ध गराएको थियो ।
No comments:
Post a Comment