Saturday, March 22, 2014

सिडिओले गरे आकस्मिक अनुगमन

सिडिओले गरे आकस्मिक अनुगमन
सर्लाही समाचारदाता
बरहथवा, चैत ०८ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा स्थानीय प्रशासनको नेतृत्वमा शनिबार आकस्मिक रुपमा अनुगमन भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन टोलीले आधा दर्जन किराना पसलहरुबाट म्याद गुज्रिएको बस्तु बरामद गर्नुका साथै नियम विपरीत सञ्चालन गरिएको एक बीउ बीजन पसल समेत बन्द गराएको छ ।
अनुगमनका क्रममा बजारका विभिन्न पसलहरुबाट म्याद गुज्रिएका भेट्नरी औषधीखाद्य बस्तु बरामद गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । ‘‘आकस्मिक रुपमा अनुगमन गरिएको हो ।’’ उनले भने–‘‘जिल्ला स्थित बजारहरुमा यसरी नै पटक–पटक आकस्मिक अनुगमनको कार्यलाई निरन्तरता दिनेछौं ।’’
अनुगमन टोलीले बरहथवा बजारका भेटनरी (पशु औषधी) पसल तथा विभिन्न खाद्य सामग्री विक्री गर्ने पसलहरुको अनुगमन गरेको थियो । केही पसलहरुमा अधिकांश दैनिक उपभोगमा आउने खाद्य वस्तुहरु म्याद गुज्रिएर प्रयोग गर्न नहुने अवस्था पुगेको भएपनि खुलेआम रुपमा बिक्री गरिरहेको फेला पारिएको प्रजिअ घिमिरेले बताए । म्याद गुज्रिएका सामान विक्री गर्ने किराना पसल एवं औषधी पसलबाट त्यस्ता मालसामान बरामद गरिएको र पूनः भेटीएमा कडा कारवाही गरिने भन्दै सचेत गराईएको प्रजिअ घिमिरेले जानकारी गराए ।
त्यस्तै टोलीले मोतीपुर गाविस स्थित ड्राई (सुख्खा) मासु उद्योगमा समेत अनुगमन गरेको छ । एसी फुड इन्ड्रष्ट्रिज नामक उक्त उद्योगले धेरै दिन सम्म राखेर मासु बिक्री गर्दै आएको गुनासो आएकाले टोलीले अनुगमन गरेको हो । उक्त उद्योगबाट मासु संकलन गरिएको र उक्त मासु आइतबार खाद्य प्रविधि एवं गुण नियन्त्रण विभागमा परिक्षणका लागि पठाईने प्रजिअ घिमिरेले बताए । हाललाई मासु उत्पादन बन्द गर्न समेत उक्त उद्योगलाई निर्देशन दिइएको बताइएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाँका प्राविधिक, जिल्ला पशु सेवा कार्यालयका कर्मचारी, क्वारेन्टाईनका प्राविधिकहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment