Friday, March 14, 2014

आइते सहित चारजनालाई म्याद थप

आइते सहित चारजनालाई म्याद थप
ढुंग्रेखोला, फागुन ३० । बन्दुक बोकेर स्थानीय युवालाई आक्रमण गर्न हिडिरहेको अवस्थामा पक्राउ परेका आइतसिंह डिमडोङ सहित चारजनालाइ प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ ।
३ राउण्ड गोली लोड गरेको १२ वोरको हर्नेड बन्दुक र थप २४ राउण्ड गोली बोकेको अवस्थामा डिमडुङ सहित चारजनालाई विहिबार अपरान्ह इलाका प्रहरी कार्यालय हरिवन र
इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले पक्राउ गरेको थियो । प्रहरीले कर्मैया गाविस–९ निवासी ३१ वर्षिय डिमडुङसँगै कर्मैया–५ निवासी १७ वर्षिय सुमन घलान, १७ वर्षिय संजय लामा र ढुंगे्रखोला गाविस–४ निवासी ३१ वर्षिय राज रायमाझीलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेकालाई थप कार्वाही प्रकृया अगाडी बढाउनका लागि इलाका प्रहरी कार्यालय हरिपुरले जिल्ला अदालतबाट शुक्रबार ७ दिने म्याद लिएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनायो । स्थानीय कुमार घिसिङलाई आक्रमण गर्न गोली लोड गरिएको बन्दुक बोकेर खोजीरहेको अवस्थामा डिमडोङ सहित ३ जना र आक्रमण गर्न जानका लागि मोटरसाईकल उपलब्ध गराएको भन्दै रायमाझीलाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डिमडुङले गरेको फलामे रडको प्रहारबाट टाउकोमा चोट लागि घाइते भएका घिसिङलाई पुन बन्दुक बोकेर आक्रमण गर्न खोजिरहेको अवस्थामा डिमडुङ सहित तीनजनालाई अपरान्ह तीनबजे पक्राउ गरिएको हरिवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रड प्रहारबाट घाइते घिसिङले कर्मैया प्रहरीमा उजुरी दिएको थाहा पाएपछि घरबाट गोली लोड गरिएको बन्दुक बोकेर डिमडोङ घिसिङको पसल रहेको मिलनचोकतर्फ गएको र सोही अवस्थामा पक्राउ गरिएको हो ।
डिमडुङले बोकेको बन्दुक अनुमति प्राप्त भएपनि गत असारमै नविकरण सकिएको तथा सार्वजनिक स्थानमा अरुलाई आक्रमण गर्न खोजिएकाले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ‘‘अनुमति प्राप्त बन्दुक भनेको घरमा कसैले आक्रमण गर्न खोजे आत्मरक्षाका लागि प्रयोग गर्न दिईएको हो ।’’ एक सुरक्षा अधिकृतले भने–‘‘जुन बन्दुक वर्षेनी कानून अनुसार नविकरण गर्नुपर्छ र सार्वजनिक स्थानमा बोकेर आतंक सृजना गर्न पाइदैन ।’’
कुटपिट भएको सुचना पाएर पुगेको कर्मैया प्रहरीले घेराबन्दी गरि डिमडुङ सहितलाई पक्राउ गरेको थियो । कुटपीटबाट घाइते घिसिङले भने डिमडुङ सहितले आफूलाई मार्न खोजेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हरिवनले डिमडुङलाई हिरासतमा राखि घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको बतायो । डिमडुङ २०६४ सालको संविधान सभा निर्वाचनमा क्षेत्र नं. ३ बाट चुरे भावर राष्ट्रिय एकता पार्टीका उम्मेद्वार समेत रहेका थिए ।

No comments:

Post a Comment