Friday, March 21, 2014

एसएलसी परीक्षामा साँढे नौहजार परीक्षार्थी

एसएलसी परीक्षामा साँढे नौहजार परीक्षार्थी
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, चैत ०५ । विहिबारबाट सुरु हुने एसएलसी (प्रवेशिका) परीक्षा–२०७० मा सर्लाहीमा नौहजार पाँचसय ३७ जना विद्यार्थी सहभागि हुँदैछन् । पछिल्लो पटक परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले तय गरेको विवरण अनुसार एसएलसी परीक्षामा सर्लाहीबाट नियमिततर्फ ६ हजार आठसय १३ र एक्जाम्टेडतर्फ दुईहजार सातसय १४ विद्यार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
३३ संस्थागत (निजी) विद्यालय, प्राइभेट १, दुईवटा खुला विद्यालय, गृहिणी मावि सहित जम्मा एकसय १२ वटा शैक्षीक संस्थाका विद्यार्थीहरुको ३१ वटा केन्द्रमा परीक्षा हुँदैछ । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कविराज उप्रेतीका अनुसार चजउमावि सुखेपोखरी खुल्लामा २०, पब्लिक मावि खुल्लाबाट २०, प्राइभेटबाट १, गृहीणी मावि सुखेपोखरी बाट ५ जनाले समेत एसएलसी परीक्षा दिँदैछन् ।
एसएलसी परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘‘परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘मर्यादित र अनुशासित ढंगले विद्यार्थीहरुले निर्धक्कसँग परीक्षा दिन सक्नेछन् ।’’
जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले परीक्षा सञ्चालनका लागि प्रश्नपत्र र उत्तर पुस्तिका सम्बन्धित केन्द्राध्यक्षको जिम्मा लगाईसकिएको तथा केन्द्राध्यक्षहरुले सहायक केन्द्राध्यक्ष एवं निरीक्षकहरु समेत नियुक्ति दिईसकेको दावी गरे । ‘‘केन्द्राध्यक्षहरुलाई जुन विद्यालयमा केन्द्र छ सोही विद्यालयका शिक्षकलाई मात्र निरीक्षकमा राख्न निर्देशन दिईएको छ ।’’ उनले भने–‘‘यताउता भएको पाइए कडा कार्वाही हुन्छ ।’’
सुरक्षा व्यवस्था मिलाउनका लागि भने हरेक परीक्षा केन्द्रमा १० जना सुरक्षाकर्मी खटाईने प्रजिअ घिमिरेले बताए । परीक्षा केन्द्रभित्र प्रहरी नायव निरीक्षकभन्दा माथिल्ला स्तरका सुरक्षा अधिकृत मात्र पस्न पाईने र अन्य सुरक्षाकर्मीले भने बाहिरी घेराबाट सुरक्षा दिनुपर्ने व्यवस्था मिलाईएको परीक्षा समन्वय समितिले जनाएको छ ।
मुलुकभरबाट भने परीक्षामा नियमित र एक्जाम्टेड गरी पाँच लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिन आवेदन फारम भरेका छन् । जसमा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडमा एक लाख ४६ हजार ७३३ जना छन् । गत वर्ष पाँच लाख ४७ हजार १६५ विद्यार्थीले परीक्षा दिएका थिए ।

No comments:

Post a Comment