Friday, March 21, 2014

परीक्षामा कडाई गर्दा विरोध

परीक्षामा कडाई गर्दा विरोध
सर्लाही समाचारदाता
मलंगवा, चैत ०६ । एसएलसी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने क्रममा कडाई गर्दा विभिन्न पक्षबाट विरोधहरु आएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताएका छन् ।
जिल्ला शिक्षा अधिकारी विश्वकर्माले भने परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउने क्रममा कडाई गर्दा शिक्षकहरु स्वयंले नै आफु समक्ष विरोध जनाएको बताए । ‘‘विद्यार्थीलाई चोरेर हैन, पढेर पास गर्नुपर्छ भनेर सिकाउनुपर्ने शिक्षक आफै परीक्षामा अमर्यादित एवं अव्यवस्थित क्रियाक्लाप विरुद्ध कडाई गर्दा विरोधमा उत्रिएको देख्दा अचम्म लागेको छ ।’’
यता केही केन्द्राध्यक्ष एवं विद्यालयका शिक्षकहरुले भने स्थानीय प्रशासनबाट परीक्षार्थीहरु माथि कडाईका नाममा ज्यादती भएको भन्दै गुनासो गरेका छन् । ‘‘चेक गर्दा सानो कागजको टुक्रा फेला परेपनि निष्काशन गरिएको छ ।’’ एक केन्द्राध्यक्षले सर्लाही दैनिकसँग भने–‘‘यो त साह्रै ज्यादती भयो ।’’ सर्लाहीमा विगत वर्षहरुको तुलनामा यसवर्षको परिक्षामा निकै सुधार भएको एसएलसी परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । विहिबार सदरमुकाम मलंगवा लगायत आसपासका केही परीक्षा केन्द्रहरुमा प्रजिअ घिमिरे आफैले सकृय रुपमा अनुगमन गरेका थिए । गम्हरिया उमाविमा प्रजिअ घिमिरेले नै १५ जना परीक्षार्थीहरुलाई निष्काशन गरेका हुन् । प्रजिअ घिमिरेले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउनका लागि कुनै कसर बाँकी नराखिने बताए ।

No comments:

Post a Comment