Friday, March 21, 2014

‘मुलुक जटिलतातर्फ उन्मुख’–गुप्ता

‘मुलुक जटिलतातर्फ उन्मुख’–गुप्ता
सर्लाही समाचारदाता
नवलपुर, चैत ०६ । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले मुलुक जटिलतातर्फ उन्मुख हुँदै गएको बताएका छन् ।
विहिबार संचारकर्मीहरुसँग नवलपुरमा कुरा गर्दै पूर्व मन्त्री समेत रहेका गुप्ताले ठूला दलहरुको स्वार्थका कारण मुलुक जटिलतातर्फ उन्मुख हुँदै गएको दावी गरेका हुन् । ‘‘कांग्रेस, एमाले लगायत ठूला दलहरुको स्वार्थका कारण मुलुक जटिलतातर्फ उन्मुख भइरहेको छ ।’’ उनले भने–‘‘पहिलो संविधान सभा नै नयाँ संविधान बनाउन सक्षम भएपनि ठूला दलहरुले स्वार्थवस् संविधान सभाको दोस्रो निर्वाचन गराए ।’’
दोस्रो संविधान सभाबाट पहिचान सहितको संघीय शासन प्रणाली युक्त संविधान बन्ने सम्भावना क्षीण रहेको समेत गुप्ताले दावी गरे । ‘‘पहिलो संविधान सभामा पहिचान सहितको संघीयता पक्षधरहरुको बाहुल्यता देखेपछि ठूला दलहरुले संविधान बन्न नदिएका हुन् ।’’ उनले भने–‘‘दोस्रो संविधान सभाको निर्वाचनमा ठूला दलहरुले सोचे जस्तै गरि पहिचान सहितको संघीयतावादीहरु पराजीत भएका छन्, जसले गर्दा राज्यको पूनरसंरचना हुनेगरि परिवर्तनकारी संविधान जारी हुने सम्भावना कम छ ।’’
पहिचान सहितको संघीयता लगायत माग राख्ने पक्षधरहरुलाई कमजोर बनाउने षडयन्त्र स्वरुप स्थानीय निकाय निर्वाचनको हौवा फैलाईएको समेत गुप्ताले आरोप लगाए । ‘‘हाल मुलुकमा परिवर्तनकारी संविधान बनाउनु पर्ने आवश्यकता छ ।’’ उनले भने–‘‘तर ठूला दलहरुले स्थानीय निकायको निर्वाचन गराउने हल्ला चलाएर मुलुकलाई जटिलतातर्फ उन्मुख गराइरहेका छन् ।’’ पहिचान सहितको संघीयता लगायतलाई सम्बोधन नगरी संविधान जारी नभए मुलुक लामो समयसम्म अस्थितर रहिरहने समेत गुप्ताले चेतावनी दिए । आइन्दा सार्वजनिक पदमा नबस्ने दावी गर्दै गुप्ताले तराई मधेशका जनताको हकहितमा भने निरन्तर लागिरहने उल्लेख गरे । आफूलाई मुलुकको राजनीतिक मूलधारबाट अलग्याउने निहित षडयन्त्र अनुरुप भ्रष्ट्राचार मुद्धामा फसाइएको समेत गुप्ताले दावी गरे । भ्रष्टाचार मुद्धाबारे मधेशी लगायत आम नेपाली जनताले जे सुकै सोचे र भनेपनि आफू निरन्तर तराई मधेश सहित समग्र नेपाली जनताको अधिकारप्रति सकृय रहने गुप्ताको प्रतिबद्धता थियो ।

No comments:

Post a Comment