Friday, March 14, 2014

प्रहरीलाई कुटेको आरोपमा दुई पक्राउ

प्रहरीलाई कुटेको आरोपमा दुई पक्राउ
सर्लाही समाचारदाता
हरिवन, फागुन ३० । सादा पोशाकका प्रहरीमाथि कुटपीटमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले नियन्त्रणमा लिएका दुई युवालाई शुक्रबार थप कार्वाही प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाएको छ ।
विहिबार राती घरबाटै पक्राउ परेका घुर्कौली गाविस–६ का ३१ वर्षिय मिनबहादुर ब्लोन र अत्रौली गाविस–३ निवासी ३३ वर्षिय ननम लामालाई हरिवन प्रहरीले नियन्त्रणमा लिएर जिल्ला पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट जिल्ला प्रहरी कार्यालय मलंगवामा हाँजिर हुन आईरहेका प्रहरी हबल्दार मौसिलाल साहलाई गत फागुन १२ गते बसभित्रै कुटपीट गरेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले बताए । सोही आरोपमा घटनाको भोलिपल्टै पक्राउ परेका घुर्कौलीका राजकुमार लामालाई भने यसअघि नै जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडिसकेको छ ।
पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । हरिवन प्रहरीले पठाएका दुईजनालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । थुनछेकको बहस नसकिएकाले शुक्रबार पनि दुईजनालाई प्रहरी थुनामै राखिएको प्रवक्ता ओलीले बताए ।
मलंगवाको दाईभाई बसमा यात्रा गरिरहेका युवतीहरुलाई दुव्र्यवहार गरिरहेको समयमा प्रहरी हबल्दार साहले ‘किन त्यसो गरेको’ भनेर हप्काउँदा उनीमाथि तीनजनाले कुटपीट गरेको बताइएको छ । विहिबार पक्राउ परेका दुईजना कुटपीटमा संलग्न मुख्य अभियुक्तहरु भएको र उनीहरुले घटना सकारेको समेत प्रहरीले दावी गरेको छ ।
पूर्वतर्फ आईरहेको बस नयाँरोड कट्ने वितिकै लामा सहित तीनजनाले आफूमाथि कुटपीट गरेको प्रहरी हबल्दार साहले बताएका छन् । आफूमाथि कुटपीट हुन सुरुभएपछि बसका चालकले केही दौडाउन खोजेपनि चालकलाई नै धम्क्याएर बस रोक्न लगाएर उक्त समूह सुखेपोखरीबाट दक्षिणतर्फ भागेको साहको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment