उखु चलानका लागि इन्दुशंकरमा किसानको मारामार
सर्लाही समाचारदाता
हरिवन, चैत ११ । उद्योगमा उखु ल्याउनका लागि चलानपूर्जी माग्दै हाल हरिवन स्थित इन्दुशंकर चिनी उद्योगमा दैनिक सयौं किसानहरुको भिड लाग्न थालेको छ । जिल्ला स्थित धनकौल प. मा रहेको अन्नपूर्ण सुगर मिलले अपेक्षाकृत उखु क्रसिङ गर्न नसकेको र महोत्तरीको रामनगर स्थित एभरेष्ट सुगर मिल्स र रौतहटको गरुडा स्थित श्रीराम सुगर मिलले उखु लिन छाडेपछि सर्लाहीका सम्पूर्ण किसानहरुको भिड इन्दुशंकर चिनी उद्योगमा लागेको हो । चैत दोस्रा साता वित्न लाग्दा समेत खेतको उखु ‘जतिको तती’ रहेको भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् । दैनिक सयौं किसानहरुको चाप बढेपछि उद्योगका उखु प्रबन्धक योगनारायण रजक कार्यालय आउनै छाडेका छन् ।
चार विगाहमा उखु खेती गरेको भएपनि हालसम्म एउटा टायरको मात्र चलान पाएको र उखु खेतमै सुक्न लागेको जानकीनगर गाविस–२ का किसान शंकर लामाले गुनासो गरे । ‘‘अहिलेसम्म एउटामात्र चलान पाइएको छ ।’’ मंगलबार उद्योग परिसरमा भेटिएका लामाले गुनासो गरे–‘‘ठूलाबडा एवं नेताहरुको सोर्स लगाउन सक्नेहरुले भटाभट चलान पाईरहेको छन् र उखु ल्याईरहेका छन्, हामीजस्ता बोल्न नसक्नेहरुको उखु खेतमै सुक्ने भो ।’’
सलेमपुर निवासी तराई मधेश सद्भावना पार्टी नेपालका केन्द्रीय सदस्य कौशलकिशोर यादवले उद्योगले चलान वितरणमा राजनैतिक हिसावले पक्षपात गरेको आरोप लगाए । ‘‘उद्योगले राजनैतिक पूर्वाग्रहका हिसाबले चलान वितरण गरिरहेको छ ।’’ मंगलबार उद्योग परिसरमै भेटिएका यादवले भने–‘‘यस्तो हुँदा टाठाबाठा, ठेकेदार लगायतले बढी फाइदा लिन्छन् र वास्तविक किसान मारमा पर्छन् ।’’ यसअघि पालो सिस्टममा चलान वितरण हुँदै आएको भएपनि विगत केहीवर्ष अघिदेखि त्यस्तो सिस्टम पूर्ण रुपमा हटेको र पहुँच पु¥याउन सक्नेहरुले मात्र चलान पाउँदै आएकाले समस्या देखिएको यादवले गुनासो गरे । ‘‘सिस्टममा हिड्ने हो भने कुनै समस्या हुँदैन ।’’ यादवको कथन थियो–‘‘निकट भविष्यमै मुसुरो, गहुँ लगायत विभिन्न बालीहरु भित्र्याउनका लागि ट्रयाक्टरहरु थ्रेसर चलाउँदै हिड्ने भएकाले उखु ओसार्न साधन नपाएर किसानहरु थप मारमा पर्ने निश्चित छ ।’’ किसानहरुलाई कहिले चलान त कहिले साधनको समस्याले गाँजिरहेको यादवको कथन छ ।
दक्षिणी क्षेत्रका गाउँहरुमा खटिएका जेटिएले अनियमित ढंगले ठेकेदारी प्रथामा चलान वितरण गरेको समेत किसानहरुको आरोप छ । ‘‘जेटिएले पालो सिस्टममा भन्दा पनि ठेकेदार मार्फत चलान बाँडेर अनुचित कमाई गरिरहेका छन्, अर्को उनीहरुलाई गाउँमा किसानले भेट्नै सक्दैनन् ।’’ यादवको दावी थियो–‘‘त्यसतर्फ उद्योग व्यवस्थापनले बेलैमा ध्यान दिनुपर्ने जरुरी छ ।’’ समयमै किसानहरुको समस्या समाधान एवं सिस्टम अनुसार काम अगाडी नबढाए आक्रोशित किसानहरुले जे पनि गर्न सक्ने यादवले चेतावनी दिए ।
चैत्र महिनाको हावाले खेतको चिस्यान संगै उखु पनि सुक्न थालेपनि चलान नपाएका कारण किसानहरु पीडित बनेका छन् । २० दिन देखि लगातार चिनी उद्योग धाउँदा पनि चलान नपाएको २ बिघा १० कठ्ठाको खडा उखु सुक्न थालेको सलेमपुरका उखु कृषक रामकैलास रायले चिन्ता व्यक्त गरे । सबै काम छोडेर चलानका लागि एक महिना देखि दैनिक चिनी मिल आउनु परेको पिडारी गाविस–५ का फेकु रायले गुनासो गरे ।
चलान लिन उद्योगमा किसानको दवाव बढन थाले पछि उखु प्रबन्धक योगनारायण रजक सहित उच्च तहका कर्मचारी कार्यालय छोडेर बाहिर बस्न थालेका छन् । पछिल्लो समय उखु प्रबन्धक सहित जेटिएहरुको मोबाइल फोन प्रायजसो स्वीचअफ रहने र घण्टी गएपनि नउठ्ने गरेको किसानहरुको गुनासो छ । नेपालमा सबै भन्दा बढी उखु खेति हुने सर्लाहीमा इन्दशंकर र यसै वर्ष क्रसिङ शुरु गरेको अन्नपुर्ण गरी दुई चिनी उद्योग सञ्चलनमा छन् । धनकौल स्थित अन्नपुर्ण चिनी उद्योगमा चलान वितरणमा अनियमितता भएको भन्दै किसान र प्रहरी बिच सोमबार झडप भएको थियो । झडपमा परि प्रहरी निरीक्षक रुद्र चुडाल सहित आधा दर्जन सुरक्षाकर्मी एवं किसानहरु घाइते भएका थिए भने सशस्त्र प्रहरीको जीपमा समेत तोडफोड भएको छ । बुुधबार जिल्ला प्रशासन कार्यालयमा वार्ता गरी समस्या समाधान गर्ने सहमतिमा विवाद तत्कालका लागि मथ्थर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले उद्योग व्यवस्थापनमा रहेका अधिकारीहरुले जिल्लाको दक्षिणी क्षेत्र स्थित गाउँ–गाउँमा दलाल मार्फत कम मूल्यमा उखु किनेर उद्योगमा उखु ल्याउने गरेका कारण किसानहरुले चलानका लागि पीडा बेहोर्नु परेको दावी गरे । ‘‘किसानहरुको यस्तो अवस्था आउनुमा उद्योगपतिहरुको पनि ठूलो हात छ ।’’ मैनालीले भने–‘‘मंसिरमै उद्योग चलाए, अहिले चलानका लागि यस्तो समस्या हुँदैन, यहाँ त उद्योग ढिला सञ्चालन गर्ने अनि व्यवस्थापनले गाउँ–गाउँमा दलालमार्फत कम मुल्यमा उखु खरिद गरेर किसानहरुलाई चलान नदिई कम मुल्यमा विक्री गर्न बाध्य पार्ने प्रपञ्च रचिएको छ ।’’ इन्दुशंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले यसअघि महोत्तरीको रामनगर र रौतहटको गरुडामा ठेकेदार मार्फत उखु लैजाने किसानहरुकै उद्योगमा चलानका लागि बढी भिड देखिएको दावी गरे । ‘‘गतवर्षहरुमा रामनगर र गरुडा उखु दिने किसानहरु यसवर्ष ती उद्योगले केही समय अघि हात झिकेपछि हाम्रो उद्योगमा चलानका लागि आएका हुन् ।’’ महाप्रबन्धक झाले दावी गरे–‘‘ती दुवै उद्योग र धनकौलको उद्योगमा उखु दिन भनेर सिजन अघि हाम्रो सर्भेमा नपरेका किसानहरुको मात्र अहिले बढी भिड लागेको हो ।’’
सर्लाहीको दक्षिणी क्षेत्रबाट गतवर्ष रामनगर स्थित एभरेष्टले साँढे १६ लाख क्वीन्टल एवं गरुढा स्थित श्रीरामले पाँचलाख क्वीन्टल उखु लगेको भएपनि यसवर्ष ती दुवै उद्योगले पछिल्लो समय हात झिकेपछि उक्त उद्योगहरुमा उखु दिदै आएका किसानहरु बाध्य भएर हाम्रोमा चलानका लागि मेरो छुट भयो भन्दै पूनः सर्भे गराउन र चलान माग्न आएको महाप्रबन्धक झाको दावी छ । दैनिक ४० हजार क्वीन्टलका दरले ४० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ पुषको दोश्रो साताबाट सञ्चालनमा आएको इन्दुशंकरले हालसम्म २२ लाख क्वीन्टल उखु क्रसिङ गरेको छ ।
उद्योगको मिलगेट क्षेत्रमा अझै ९–१० लाख क्वीन्टल उखु बाँकी रहेको र जिल्लाभर थप १८ लाख क्वीन्टल उखु सर्भे भएकाले उद्योगमा चलानका लागि चाप बढ्नु स्वभाविकै भएको झाको कथन छ । जिल्लामा ७० लाख क्वीन्टलभन्दा बढी उखु उत्पादन हुने अनुमान गरिएको महाप्रबन्धक झाले बताए ।
No comments:
Post a Comment