प्रहरीले पनि खोज्न थाल्यो ‘झोले’ विद्यालय
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, चैत ०७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालयले जिल्ला स्थित अनुमति प्राप्त तर सञ्चालनमा नरहेका एकदर्जन ‘झोले’ विद्यालयबारे स्थलगत अवलोकन गरेको छ । प्रहरीले स्थलगत अवलोकनमा देखिएका एवं स्थानीय सर्वसाधारणसँग गरिएका कुराकानीमा आधारमा अख्तियारलाई छिट्टै प्रतिवेदन पठाउने बताइएको छ ।
प्रहरीले दुईदिन लगाएर जिल्ला स्थित विभिन्न १२ वटा विद्यालयको अवलोकन गरेको हो । सुमित आदर्श विद्यामन्दिर बसन्तपुर–४, सुमित्रामाई प्रावि जिंगड्वा–५, माँ सन्तोषि प्रावि मलंगवा–९, जनहित प्रावि नेत्रगंज–८ लगायत विद्यालयको स्थलगत अवलोकन गरि प्रतिवेदन तयार पार्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । त्यस्तै जनता प्रावि धनकौल–५, सामुदायिक प्रावि भवानीपुर–१, हंस जनता प्रावि सिमरा–५, प्रावि महिनाथपुर–९, सामुदायिक प्रावि सोतिखोला बरहथवा–४, सामुदायिक प्रावि खोरिया–१ र गणेश जनता प्रावि श्रीपुर–१ को स्थलगत अवलोकन गरिएको प्रहरी स्रोतले जनायो ।
जिल्ला प्रहरी कार्यालयको एक टोलीले गत बुधबार र विहिबार दुईदिन लगाएर ती विद्यालयहरुको स्थलगत अवलोकन गरेको छ । अख्तियारबाट जिल्ला प्रहरी प्रमुखलाई नै सम्बोधन गरेर ती विद्यालयहरुको स्थलगत अवलोकन गरि प्रतिवेदन पेश गर्न लिखित पत्र आएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामकृष्ण सुवेदी नेतृत्वको टोलीले केही समय अघि जिल्ला स्थित १ सय ७८ वटा विद्यालयको स्थलगत अवलोकन एवं ती विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसँग लिखित बयान लिएको थियो । सोही अनुसन्धानका क्रममा अख्तियारले क्षेत्रिय शिक्षा निर्देशनालय, जिल्ला प्रहरी कार्यालय लगायत निकायलाई समेत त्यस्ता विद्यालयहरुको थप अनुसन्धानका क्रममा स्थलगत अवलोकन पश्चात प्रतिवेदन संकलन गरिरहेको स्रोतले जनाएको छ ।
यसैबीच जिल्ला शिक्षा कार्यालयले एकसय ६९ वटा विद्यालयको खाता रोक्का गरेको छ । नेपाल बैंक लिमिटेड मलंगवा शाखामा रहेको ति विद्यालयहरुको बैंक खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए । ‘‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले, उक्त कार्यमा सहयोग पुगोस् भनेर खाता रोक्का गरिएको हो ।’’ शिक्षा अधिकारी विश्वकर्माले भने ।
No comments:
Post a Comment