Friday, March 21, 2014

एसएलसीको पहिलो दिन ४८ विद्यार्थी निष्काशित

एसएलसीको पहिलो दिन ४८ विद्यार्थी निष्काशित
सर्लाही समाचारदाता
मलंगवा, चैत ०६ । एसएलसी (प्रवेशिका) परीक्षा–२०७० अन्तर्गत विहिबार पहिलो दिन अंग्रेजी विषयको परीक्षाका क्रममा जिल्लाभरबाट ४८ जना परीक्षार्थी निष्काशित भएका छन् । जिल्ला प्रहरी कार्यालयको स्रोत अनुसार अनियमित कार्य गरेको अवस्थामा फेला परेका ४८ जना परीक्षार्थी निष्काशनमा परेका हुन् । त्यस्तै दुईजना निरीक्षक (गार्ड)लाई समेत निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
एसएलसी परिक्षा समन्वय समितिको अनुगमन टोलीले चिट सहित फेला परेका ४८ परिक्षार्थी र अनियमित ढंगबाट निरीक्षकको रुपमा राखिएका एक शिक्षकलाई निस्कासन गरेको हो । महावीर जनता उमावि हरिपुर केन्द्रमा निरीक्षकको रुपमा खटिएका एक शिक्षकलाई निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कविराज उप्रेतीले बताए ।
निरीक्षक (गार्ड) भरसक केन्द्र तोकिएका विद्यालयकै शिक्षक राख्नु पर्ने र अपुग भए नजिकको विद्यालयका शिक्षकलाई राख्नुपर्नेमा उमावि हरिपुरमा गलत सिफारिसका आधारमा टाढाका विद्यालयको शिक्षक निरीक्षक राखिएको पाइएकाले निष्काशन गरिएको शिक्षा कार्यालयले जनायो । ती शिक्षकलाई हरिपुरको धापटोल स्थित एक प्राविको शिक्षक भन्दै सिफारिस आएका आधारमा निरीक्षक राखिएपनि उनी अन्तैको शिक्षक रहेको बताइएको छ ।
त्यस्तै परिक्षार्थीलाई सिकाउँदै गरेको अबस्थामा जनता उमावि रामवन केन्द्रवाट एक निरीक्षकलाई अनुगमन टोलीले कारवाहि गरी निस्कासन गरेको बताइएको छ । त्यसैगरी अमर्यादित एवं अनियमित अर्थात ‘चिट चोरेको’ आरोपमा विभिन्न परीक्षा केन्द्रबाट ४८ जना परीक्षार्थी निष्काशनमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा भन्दा बढी बौद्यीदेवी उमावि मुसैली परिक्षा केन्द्रवाट १८ परिक्षार्थी निस्कासन भएका छन् । त्यस्तै गम्हरीयाको लक्ष्मीदेवी उमावि केन्द्रवाट १५ जना, जेसीस वोर्डिङ स्कुल मलंगवा केन्द्रवाट १० जना, जनता उमावि गढैयावाट ३ जना, पब्लीक मावि र गोडैता मावि केन्द्रवाट १÷१ परिक्षार्थी निस्कासित भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता पृथ्वीनारायण ओलीले बताए ।
जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले केन्द्राध्यक्षहरुले जिम्मेवारी अनुसार खबर नगर्दा आफूहरुलाई कतिजना निष्काशनमा परे र परीक्षामा कतिजना विद्यार्थीहरु सहभागि भए भन्ने जानकारी आउन नसकेको बताए । ‘‘हामीलाई विस्तृतमा सबै केन्द्राध्यक्षहरुले जानकारी गराएका छैनन् ।’’ उनले सर्लाही दैनिकसँग भने–‘‘प्रहरीको तथ्यांक ठिकै होला नि, उहाँहरुको गाउँगाउँमा रहेका इकाईहरुबाट तत्काल खबर आउँछ नी ।’’
विहिबार परीक्षामा जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार नौहजार ४ सय ७९ जना परीक्षार्थी सहभागि भएका छन् । ७४ जना अनुपस्थित भएको प्रहरीले जनाएको छ । जिल्ला शिक्षा कार्यालयमा भने साँझ अबेरसम्म पनि एकिन तथ्यांक आइसकेको थिएन । शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुँदैछ ।

No comments:

Post a Comment