होलीमा प्रहरी सहित दुईदर्जन घाइते
सर्लाही समाचारदाता
मलंगवा, चैत ०४ । होली खेल्ने क्रममा झडप र विवाद हुँदा सोमबार प्रहरी सहित दुईदर्जन भन्दा बढी घाइते भएका छन् । हुलदंगा गर्ने नौजनालाई प्रहरीले हिरासतमा लिएको छ ।
नारायणपुर गाविसका पाँचजना र इश्वरपुर गाविसका ४ जनालाई नियन्त्रणमा लिएर कार्वाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारयण ओलीले बताए । नारयणपुर गाविस–३ मा स्थानीय बासिन्दाबीच झडप हुँदा एकदर्जन भन्दा बढी घाइते भएका छन् । दुईजना गम्भिर घाइते भएकाले उनीहरुलाई वीरगंज र काठमाडौंतर्फ थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
५५ वर्षिय हरिचन मण्डल र ३० वर्षिय वैजु मण्डललाई थप उपचारका लागि सोमबार राती १० बजेतिर वीरगंजतर्फ पठाइएको र जसमध्ये वैजुलाई वीरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पतालले थप उपचारका लागि मंगलबार विहान वीर अस्पताल काठमाडौं रेफर गरेको प्रवक्ता ओलीले बताए । वैजुको टाउकोमा गहिरो चोट लागेका कारण उनलाई वीरगंजबाट काठमाडौं थप उपचारका लागि पठाइएको हो ।
नारायणपुरमा साँझ ४ बजेपछि स्थानीय दुईपक्षबीच झडप सुरु भएको र साँझ अवेरसम्म कुटाकुट भएको प्रवक्ता ओलीले बताए । झडप नियन्त्रण गर्न गएका नारायणपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामछविला यादव र प्रहरी हबल्दार हरिबहादुर खड्का सामान्य घाइते भएका छन् । स्थानीय बासिन्दाबीच भएको झडपका क्रममा प्रहार गरिएको ढुंगाले लाग्दा दुई प्रहरी घाइते भएको प्रवक्ता ओलीले बताए । त्यस्तै घटनामा परि स्थानीय शंकर मण्डल, प्रमोद मण्डल, जयनाथ मण्डल, सरोज मण्डल, धर्मेन्द्र मण्डल सहित एकदर्जन भन्दा बढी स्थानीय बासिन्दा सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न भएको आरोपमा प्रहरीले सोमबार राती नै स्थानीय ६ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय चन्देश्वर मण्डल, अमित मण्डल, कपल मण्डल, उमेश मण्डल, राजिब मण्डल र रामचन्द्र मण्डललाई हिरासतमा राखिएको प्रवक्ता ओलीले बताए । पक्राउ परेका रामचन्द्रलाई भने वीरगंज उपचारका लागि लगिएका घाइतेसँग पठाउनु पर्ने भएकाले छाडिएको छ भने अनुसन्धानका क्रममा उमेश, राजिव र रामचन्द्रको घटनामा दोष नदेखिएकाले उनीहरुलाई समेत छाडिएको छ । तीनजनालाई भने सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । दुईपक्षबीच ढुंगा, इट्टा एवं बाँसको फराटा हानाहान भएको थियो । घटनाबारे अनुसन्धान भईरहेको र स्थानीय प्रहरीको प्रतिवेदन पश्चात संलग्नहरुलाई कार्वाही प्रकृया अगाडी बढाइने प्रवक्ता ओलीले बताए ।
त्यस्तै सोमबार साँझ कायालयमै नाराबाजीका साथ ढुंगामुढा हुन थालेपछि इलाका प्रहरी कार्यालय इश्वरपुरले लाठीचार्ज एवं ४ जनालाई नियन्त्रणमा लिएको छ । दिउँसो महोत्तरीबाट बबरगंज हुँदै इश्वरपुरतर्फ मोटरसाईकलमा आउँदै गरेका दुईजनालाई जबर्जस्ती रंग लगाउने एवं उनीहरुको मोटरसाईकल तोडफोड भएपछि इश्वरपुर बजार दिनभर तनावग्रस्त बनेको थियो । दुव्र्यवहार गर्नेलाई सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरी टोलीमाथि नै दुव्र्यवहार गरेपछि प्रहरीले संलग्नहरुलाई नियन्त्रणमा लिएको थियो । साँझ इलाका प्रहरी कार्यालयमै प्रहरी प्रशासन मुर्दावाद, पक्राउ परेकालाई छाड भन्दै एक समूह घेराउ र ढुंगामुढा गर्न आएपछि प्रहरीले लाठीचार्ज गरेको थियो भने चारजनालाई नियन्णमा लिएको थियो ।
पक्राउ पर्नेमा इश्वरपुर गाविस–३ धनपतिडाँडाका ३८ वर्षिय इसु भन्ने शत्रुधन सिंह, ३९ वर्षिय लक्ष्मण शर्मा, ४५ वर्षिय किशुन शर्मा र ५० वर्षिय प्रेमसागर सिंह रहेका छन् । मोटरसाईकलमा आउनेहरुले दिउँसो दुव्र्यवहार भएको खबर गरेपछि गएको प्रहरी टोलीमाथि उक्त समूहले दुव्र्यवहार गरेको र पछि आफै जाँदा हातपात समेत गरेको इलाका प्रहरी कार्यालय इश्वरपुरका प्रहरी निरीक्षक यज्ञप्रसाद भट्टराइले बताए । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही अगाडी बढाइएको उनले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले मंगलबार नै सात दिन थुनामा राखि अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । त्यस्तै हथियौल लगायत जिल्लाका अन्य विभिन्न स्थानमा पनि होलीको विषयमा विवाद हुँदा केही स्थानीय बासिन्दाहरु घाइते भएका छन् । स्थानीय स्तरमा छलफल गरि विवाद मिलाइएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment