इट्टभट्टमा पनि पस्न थाल्यो अख्तियार
सर्लाही समाचारदाता
मलंगवा, माघ ०३ । भर्खरै जिल्लाका विभिन्न विद्यालयहरुमा स्थलगत अनगुमन गरेर सर्लाहीमा सकृयता देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इट्टाभट्टाहरुको समेत छानवीन सुरु गरेको छ । आयोगले सर्लाहीमा दर्ता भएका र दर्ता नभई सञ्चालनमा नरहेका इट्टाभट्टाहरुको बारेमा तथ्यांक माग गर्दै यो क्षेत्रमा समेत छानवीन गर्ने संकेत गरेको हो । सम्बन्धित निकायमा दर्ता नै नभई सञ्चालनमा आएका र दर्ता भएपनि उचित राजश्व नतिर्ने गरेका इट्टाभट्टा सञ्चालकहरुलाई कडा कार्वाही गर्ने आशयका साथ अख्तियारले कार्वाही प्रकृया अगाडी बढाएको स्रोतले जनाएको छ ।
अख्तियारको लिखित निर्देशन अनुसार घरेलु तथा साना उद्योग विभागले सदरमुकाम मलंगवा स्थित घरेलु तथा साना उद्योग कार्यालयलाई त्यसबारे तथ्यांक पठाउन केही दिनअघि मात्र पत्राचार गरेको छ । विभागले जिल्लामा सञ्चालन भईरहेका दर्तायुक्त इट्टाभट्टाहरुको सम्पूर्ण विवरण पठाउन लिखित पत्राचार गरेको घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख मधुकर कुमार साहले बताए ।
‘‘अख्तियारको निर्देशन अनुसार विभागबाट सर्लाहीमा सञ्चालित इट्टाभट्टाहरुको तथ्यांक पठाउन पत्राचार भएको छ ।’’ घरेलु प्रमुख साहले भने–‘‘एकदुई दिन भित्रै तथ्यांक पठाउने तयारी गरेका छौं ।’’ साहका अनुसार दर्ता भई सञ्चालनमा रहेका इट्टाभट्टाहरुको सम्पूर्ण तथ्यांक पठाउन लागिएको हो ।
स्रोतका अनुसार जिल्लामा सञ्चालित तर सम्बन्धित निकायमा दर्ता नभएका इट्टाभट्टाहरुको बारेमा समेत केही दिनअघि अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाले तथ्यांक संकलन गरेर लगिसकेको छ । सम्बन्धित निकायमा दर्ता भई आवश्यक राजश्व नबुझाएका र दर्ता नभई सञ्चालन भईरहेका इट्टाभट्टाका सञ्चालकलाई कार्वाही प्रकृया अगाडी बढाउने आशयका साथ अख्तियारले छानवीन सुरु गरेको जानकारहरु बताउँछन् । अख्तियारले छानवीनको प्रकृया सुरु गरेपछि जिल्ला स्थित इट्टाभट्टा व्यवसायीहरुको चलखेल समेत सुरु भएको घरेलु तथा साना उद्योग कार्यालय स्रोतले जनायो ।
सर्लाहीमा ५६ वटा इट्टाभट्टा दर्ता भई सञ्चालनमा रहेका र ती मध्ये अधिकांशले आवश्यक राजश्व नबुझाउने गरेको स्रोतले जनाएको छ । त्यस्तै ३० देखि ३५ वटा इट्टाभट्टाहरु सम्बन्धित निकायमा दर्ता नै नगरी सञ्चालन भईरहेको स्रोतहरुको दावी छ ।
दर्ता भएका इट्टाभट्टाहरुले समेत वार्षिक करोडौंको व्यापार गर्ने भएपनि राजश्व भने ३–४ लाख पनि नबुझाउने गरेको घरेलु तथा साना उद्योग कार्यालय स्रोतले जनायो । दर्ता भई सञ्चालनमा रहेका उद्योगले राजश्व छली गर्ने गरेको र दर्ता नै नगरी भट्टा सञ्चालन गरेर लाखौं राजश्व छली हुने गरेको आशंका सहित जिल्ला स्थित इट्टाभट्टाहरुको बारेमा अख्तियारले छानवीन सुरु गर्न लागेको जानकारहरुले बताएका छन् । सम्बन्धित निकायको प्रभावकारी अनुगमन नहुँदा जिल्लामा सञ्चालित इट्टाभट्टा व्यवसायबाट मात्रै वार्षिक करोडौ राजश्व छली हुने गरेको बताईएको छ ।
No comments:
Post a Comment