Wednesday, January 15, 2014

फिल्मी शैलीमा लुट्ने पाँच पक्राउ

फिल्मी शैलीमा लुट्ने पाँच पक्राउ


जनार्दन पोखरेल
महोत्तरी, माघ १ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोरदेखि महोत्तरीको बर्दिबासबीचको जंगल क्षेत्रमा फिल्मी शैलीमा रात्रीबसमाथि लुटपाट गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
अञ्चल प्रहरी कार्यालय जनकपुरले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बडहरामाल–६, सिराहा निवासी २२ बर्षिय समिर लामा, खानीगाउँ–३, नुवाकोट निवासी २३ बर्षिय अम्बर तामाङ, धारापानी गाविस–९, धनुषा निवासी २९ बर्षिय शम्भु कार्की, गणेशथान फेदीबेसी गाविस–४, नुवाकोट निवासी २८ बर्षिय राजकुमार अधिकारी र खाल्टे गाविस–९, धादिङ निवासी २६ बर्षिय राजकुमार गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट १६ थान मोवाईल, दुई थान एलसिडी,७ हजार रुपैयाँ नगद र केही घरेलु हतियार बरामद गरिएको बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लामिछानेले जानकारी दिए । बिशेष सुराकीको आधारमा मंगलबार राती उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट सिन्धुली सिर्थौलीको लागि छुटेको ना ४ ख १५०१ नम्बरसुपर बासुकी यातायातको रात्रीबसलाई मंगलबार बिहान पौने ४ बजे सर्लाहीको फुलजोर जंगलबाट नाटकिय शैलीमा नियन्त्रणमा लिएर उनीहरुले यात्रुहरुबाट नगद, सुनचाँदीका गहना, एलसीडि, मोवाइल लगायतका सरसामान गरी ६ लाख रुपैयाँ भन्दा धेरै मूल्यको धनमाल लुटेका थिए । लुटपाट पछि उनीहरु महोत्तरीको माइस्थान बिश्वकर्मा चोकमा गाडी रोकी फरार भएका थिए । उनीहरुले यात्रु बसभित्र चलाएको कटुवा पेस्तोल र यात्रुहरुबाट लुटिएको बाँकी सरसामान भने बरामद गर्न बाँकी रहेको एसएसपी लामिछानेले बताए ।
पीडित यात्रुका अनुसार कटुवा पेस्तोल र खुकुरी लगायतका हतियार बोकेका ९ जना लुटेरा मध्येको एक जनाले ड्राइभरलाई नियन्त्रणमा लिएर आफैंले गाडी चलाएका थिए भने बाँकी ८ जनाले धनमाल लुटेका थिए । बसको ड्राइभरलाई नियन्त्रणमा लिएर आफैंले गाडी चलाउने धनुषा धारापानीको शम्भु कार्की घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । कार्की ट्रक चालक भएको अनुसन्धानबाट खुलेको छ ।
लुटेराहरुलाई पक्राउ गर्न एसएसपी लामिछाने आफै सकृय रुपमा खटिएका थिए । राष्ट्रिय राजमार्गमा भएको यात्रु बस लुटपाटको घटनालाई गंभिर रुपमा लिएर आफूहरुले तुरुन्तै चारैतिर प्रहरी टोली परिचालन गरेकाले लुटेरा चाँडै पक्राउ पर्न सफल भएको एसएसपी लामिछानेको भनाई छ । महोत्तरीको माईस्थानबाट २ र धनुषाको ढल्केबरबाट ३ जना गरी पाँच जना लुटेरालाई पक्राउ गरिएको बरिष्ठ प्रहरी उपरिक्षक शिब लामिछानेले जानकारी दिए । लुटपाटमा संलग्न अन्य ४ जनाको पहिचान भैसकेको र उनीहरु पनि चाँडै पक्राउ पर्ने एसएसपी लामिछानेको दावी छ ।

No comments:

Post a Comment