गाविस सचिवको बैठक
सर्लाही समाचारदाता
मलंगवा, माघ ०२ । सर्लाहीका गाविस सचिवहरुको बैठक विहिबार जिविस सभाहलमा सम्पन्न भएको छ ।
बैठकमा अत्यन्त न्यून सचिवहरुको उपस्थिती रहेको गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्णले बताए । बैठकमा विशेषगरी गाउँ परिषदकै बारेमा छलफल भएको थियो । गाउँ परिषद गर्नका लागि आईपरेका समस्या एवं चुनौतीका बारेमा गाविस सचिवहरुबीच छलफल भएको थियो ।
बैठकमा स्थानीय विकास अधिकारी उमेश बस्नेत, योजना अधिकृत होमबहादुर थापा लगायतको पनि उपस्थिती रहेको बताईएको छ । बैठकमार्फत हालसम्म ५१ वटा गाविसको गाउँ
परिषद भएको आधिकारिक जानकारी आएको स्थानीय विकास अधिकारी बस्नेतले बताए ।
स्थानीय स्वायत्त शासन ऐन अनुसार गाविसहरुले पुस मसान्त भित्र गाउँ परिषद सम्पन्न गर्नुपर्ने हुन्छ भने जिविसमा माघ १५ गतेभित्र सप्रमाण जानकारी गराई सक्नुपर्ने हुन्छ । राजनैतिक खिचातानी एवं गाविस सचिव एवं प्राविधिक सहायकहरुको आर्थिक अनियमितता लगायत कारणले गर्दा अधिकांश गाविसमा गाउँ परिषद हुन नसकेको जानकारहरु बताउँछन् । जिविसका अनुसार ब्रम्हपुरी, पर्सा, भेल्ही, सलेमपुर, औरही, बरहथवा, इश्वरपुर लगायत ४८ वटा गाविसहरुबाट गाउँ परिषद भएको जानकारी नआएको बताईएको छ । तोकिएको समयभित्र गाउँ परिषद नगर्ने गाविसमा थप अनुदान कटौती लगायत राज्यका विभिन्न सेवा सुविधा कटौती हुने बताईन्छ ।
No comments:
Post a Comment