Thursday, January 2, 2014

सर्लाहीको कुन क्ष्ँेत्रबाट कति सभासद् ?

सर्लाहीको कुन क्ष्ँेत्रबाट कति सभासद् ?
सर्लाही समाचारदाता
हरिवन, पुस १८ । हालसम्म बाहिर आएको जानकारी अनुसार संविधान सभा निर्वाचन २०७० अन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फबाट सर्लाहीमा १७ जना सभासद् भएका छन् । जसमा प्रत्यक्षबाट ६ जना तथा समानुपातिकबाट ११ जनाको नामावली निर्वाचन आयोगमा पेश भईसकेको छ । जिल्लाका ६ वटै क्षेत्रबाट प्रत्यक्षमा १–१ जना निर्वाचित भएका छन् भने समानुपातिकतर्फ ४ वटा क्षेत्रबाट प्रतिनिधित्व भएको छ । क्षेत्र नं. ६ बाट प्रत्यक्ष निर्वाचित १ जना सहित ६ जना नै सभासद् भएका छन् भने क्षेत्र नं. १ र ५ ले प्रत्यक्षतर्फ निर्वाचित सभास्द मात्र पाएको छ । अन्य विकास बजेट बाहेक निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रत्येक सभासद्ले पाउने १० लाख विकास बजेट अनुसार जिल्ला स्थित क्षेत्र नं. ६ भाग्यमानी बनेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट निकासा गर्ने भनेर संसदले पास गरेमा र समानुपातिक सभासद्को नामावली थपघट नभएमा सर्लाहीलाई एक आर्थिक वर्षमा कम्तिमा १ करोड ७० लाख बजेट समेत थप हुने देखिएको छ ।
क्षेत्र नं. १ बाट एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठले प्रत्यक्षमा जितेको बाहेक समानुपातिक सभासद्मा कसैको नामावली पेश भएको छैन । निर्वाचन क्षेत्र विकासको बजेट आउँदा १० लाख मात्रै पाउने देखिएको छ ।
त्यस्तै क्षेत्र नं. २ बाट प्रत्यक्ष सहित २ जना सभासद् बन्ने भएका छन् । नेपाली कांग्रेसका रामचन्द्र चौधरीले पत्यक्षतर्फ जिते भने समानुपातिकतर्फ हरिपुर घर भएकी रञ्जना सरकारको नामावली पेश भईसकेको छ । सरकार नेकपा एमालेबाट चयन भएकी हुन् । यो क्षेत्रले निर्वाचन विकास कार्यक्रम वापत २० लाख पाउने भएको छ ।
त्यस्तै क्षेत्र नं. ३ बाट प्रत्यक्ष सहित ३ जना सभासद् हुने भएका छन् । नेकपा एमालेका हरि उप्रेतीले पत्यक्षतर्फ जितेका थिए भने समानुपातिकतर्फ बरहथवा निवासी हरेस महतो र लौकठको हिरापुर निवासी नरेन्द्र साहको नामावली पेश भएको छ । महतो नेपाली कांग्रेस तथा साह तराई मधेश सद्भावना पार्टी नेपालको तर्फबाट सभासद्मा चयन हुने भएका हुन् । यो क्षेत्रले निर्वाचन क्षेत्र विकास बजेट आउँदा ३० लाख पाउने भएको छ ।
त्यस्तै क्षेत्र नं. ४ बाट प्रत्यक्ष सहित ४ जना सभासद् बन्ने भएका छन् । तराई मधेश सद्भावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले प्रत्यक्षतर्फ जितेका थिए भने समानुपातिकतर्फ ब्रम्हपुरी निवासी राम दुलारी गिरी, भेल्ही निवासी राजेश्वरी देवी र बबरगंज निवासी सहिलदेवी महतोको नामावली पेश भईसकेको छ । गिरी एमालेबाट, राजेश्वरी राप्रपा नेपाल तथा महतो सद्भावना पार्टीको तर्फबाट समानुपातिक सभासद् बन्ने भएका हुन् । सहिलदेवी सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोकी पत्नी हुन् । त्यस्तै यो क्षेत्रले पनि निर्वाचन क्षेत्रको बजेट वापत ४० लाख पाउने देखिएको छ ।
त्यस्तै क्षेत्र नं. ५ बाट तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल रायले प्रत्यक्षतर्फ जितेका छन् । समानुपातिकतर्फ भने यो क्षेत्रबाट अहिलेसम्म कसैको नामावली पेश भएको छैन । त्यसैले यो क्षेत्रमा निर्वाचन क्षेत्र विकास बजेटतर्फ १० लाखमात्र आउने भएको छ ।
त्यस्तै क्षेत्र नं. ६ बाट नेपाली कांग्रेसका अमरेस सिंहले पत्यक्षतर्फ जितेका थिएभने समानुपातिकतर्फ भगवतीपुर गाविसकी कमलादेवी महतो, अचलगढ गाविसका केदारनन्दन चौधरी, गढैयाकी अमृका कुमारी र बगदहका शम्भु पासवान हजारी र अर्नाहा गाविसका हरिष्चन्द्र साहको नामावली निर्वाचन आयोगमा पेश भएको छ । महतो एमालेबाट, चौधरी तमलोपाबाट, अमृका तमसपा नेपाल, हजारी एमाओवादीबाट र साह नेपाली जनता दलबाट समानुपातिक सभासद् हुने भएका हुन् । साह नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष समेत रहेका छन् । यो क्षेत्रले संसदीय विकास बजेटतर्फ जिल्लामै सबैभन्दा बढी ६० लाख पाउने देखिएको छ । यद्यपी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम सभासद्हरुले आफूले मन लागेको स्थानमा खर्च गर्न पाउने हुनाले आफू भएकै क्षेत्रमा सभासद्ले खर्च गर्छन् भन्ने छैन ।
निर्वाचन आयोगमा बुझाईएका नामावलीमा पनि समावेशी लगायत कारणले र कतिपय पार्टीमा आन्तरिक विवादले ठूलो रुप लिदै गएकाले सर्लाहीबाट समानुपातिक सभासद्को संख्यामा केही थपघट हुन सक्ने सम्भावना कायम छ । हालसम्म जानकारीमा आएअनुसार सर्लाहीबाट १७ जना सभासद् पुगेका हुन् । २०६४ को संविधान सभा निर्वाचनबाट पनि सर्लाहीमा १७ जना सभासद् भएका थिए । अब सरकारबाट मनोनित हुने २६ जना सभासद् भित्र तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो पर्न सक्ने सम्भावना रहेकाले सर्लाही निवासी सभासद्हरुको संख्या १९ पुग्न सक्ने अड्कल पनि काट्न थालिएको छ । यदि ठाकुर र महतो थपिए भने क्षेत्र नं. ६ र ४ मा पूनः १–१ जना सभासद् थप हुनेछन् ।

No comments:

Post a Comment