होलीमा जथाभावी गर्नेमाथि कार्वाही
सर्लाही समाचारदाता
मलंगवा, फागुन २९ । तराईमा धुमधामसँग मनाईने होली पर्वमा जथाभावि गर्नेलाई कडा कानूनी कार्वाही गर्ने निर्णय गरिएको छ ।
विहिबार सदरमुकाम मलंगवामा भएको सर्वपक्षिय बैठकले त्यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा होली पर्वलाई मर्यादित बनाउन आ–आÇनो पक्षबाट सक्दो सहयोग गर्ने उपस्थित सबै सरोकारवालाहरुले प्रतिवद्धता समेत जनाएका छन् ।
आपसमा खुशी साटासाट गरेर मयार्दित एवं व्यवस्थीत रुपमा होली मनाउने वातावरण तयार पार्नका लागि विहिबार जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक आयोजना गरेको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, राष्ट्रिय अनुसन्धानका प्रमुख माधव खतिवडा सहित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
बैठकले होली पर्वलाई मर्यादिन बनाउका लागि मदिरा विक्रि वितरणमा कडाई गर्ने, घरेलु मदिरा उत्पादन स्थलहरुको पहिचान गरि नष्ट गर्ने लगायत निर्णयहरु समेत गरेको छ । त्यस्तै ठूलो आवाजका साथ बजाइने ‘डिजे’ साउण्ड, आर्केष्ट्रा प्रदर्शन लगायतमा प्रतिबन्ध लगाउने र त्यस्ता कार्य गर्नेलाई कडा कार्वाही गर्ने समेत निर्णय गरेको प्रजिअ घिमिरेले बताए । होलीको बहानामा कसैलाई जबर्जस्ती रंग अविर दल्ने, लोला हान्ने सहितका उच्छृंखल गतिविधि गर्नेहरुलाई कानून बमोजिम कडा कार्वाही गर्ने समेत बैठकले निर्णय गरेको छ । मर्यादित होली बनाउनका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत प्रजिअ घिमिरेले बताए । होली पर्वका दिन मदिरा, गाँजा, भांग जस्ता मादक पदार्थ सेवन गरेर जबर्जस्ती रंग अविर दल्ने, लोला हान्ने जस्ता विकृतिका कारण हरेक वर्षजसो सर्लाहीमा कुटपीट, घाइते र मृत्यु सम्मका घटनाहरु हुने गरेको छ । यसवर्ष पहाडी क्षेत्रमा चैत २ गते र तराई क्षेत्रमा चैत ३ गते होली पर्व मनाइदै छ ।
No comments:
Post a Comment