शिक्षा कार्यालयमा काम सुचारु
सर्लाही समाचारदाता
मलंगवा, फागुन २८ । जिल्ला शिक्षा अधिकारी सहित अधिकांश कर्मचारीलाई बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडा स्थित क्षेत्रीय कार्यालय बोलाएपछि ठप्प बनेको जिल्ला शिक्षा कार्यालयमा बुधबारबाट सेवा सुचारु भएको छ ।
जिशिअ सहित अधिकांश कर्मचारी अख्तियारमा बयान दिन गएपछि विगत एकसातादेखि शिक्षा कार्यालयको सेवा प्रभावित बनेको थियो । अधिकांश सेवाग्राहीहरु त्यसै फर्किन बाध्य भएका थिए ।
अनुमति लिएपनि वर्षौंदेखि सञ्चालनमै नरहेका ‘झोले’ विद्यालयलाई रकम निकासा भएको विषयमा अख्तियारले सर्लाहीका जिल्ला शिक्षा अधिकारी सहित अन्य कर्मचारीहरुलाई बयानका लागी हेटौंडा बोलाएको हो । २०६५ सालयता सर्लाहीको जिल्ला शिक्षा अधिकारी, कार्यक्रम अधिकृत, शाखा अधिकृत, विद्यालय निरीक्षक, लेखापाल, स्रोत व्यक्ति, इन्जिनियर, विद्यालय प्रशासनका कर्मचारी, प्राविधिक सहायक लगायत दुई दर्जन हाराहारी कर्मचारीलाई अख्तियारले बयानका लागि हेटौंडा बोलाएको थियो ।
कर्मचारी आएकाले बुधबार बिहानैबाट शिक्षा कार्यालयमा सेवाग्राहीहरुको चाप बढेको छ । अनुमती लिएर सञ्चालनमा नरहेका ‘झोले’ सहित विभिन्न खाले अनियमित कार्य गरेको आशंकामा अख्तियारले गत माघ अन्तिम साता सर्लाहीका एक सय ७५ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसँग समेत सदरमुकाम मलंगवामै आएर बयान लिएको थियो । बयानका क्रममा रकम निकासा गर्दा जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको समेत संलग्नता रहेको पाएपछि अख्तियारको क्षेत्रिय कार्यालयले शिक्षा अधिकारी राजकुमार विश्वकर्मा सहित दुईदर्जन हाराहारी कर्मचारीलाई हेटौंडा बोलाएको हो ।
केही महिनाअघि अख्तियारका सहसचिव रामकृष्ण सुवेदीको नेतृत्वमा आएको एक टोलीले स्थलगत अनुगमनको क्रममा जिल्ला शिक्षा कार्यालयबाट २०६५ र २०६७ सालमा अनुमती लिएका तीन सय १५ मध्ये एक सय ७५ विद्यालय सञ्चालनमा नै नरहेको प्रारम्भिक तथ्य फेला पारेको थियो ।
No comments:
Post a Comment