एमालेले खोज्न थाल्यो खनालका प्रतिघाती
सर्लाही समाचारदाता
रानीगंज, पुस २१ । राष्ट्रिय अध्यक्ष झलनाथ खनाल हार्नुका कारणहरु खोज्नका लागि नेकपा एमाले क्षेत्र नं. १ को बैठक दुईदिनदेखि जारी छ । रानीगंज गाउँ कमिटिको कार्यालयमा जारी बैठकले हालसम्म कुनै निश्कर्ष निकाल्न सकेको छैन । आÇनै पार्टीका अन्तरघातीहरुले गर्दा राष्ट्रिय अध्यक्ष खनालले थोरै मतले हार्नु परेको एमाले कार्यकर्ता वृतमा चर्चा चल्दै आएको छ । संविधान सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा उम्मेद्वारी दिएका एमाले अध्यक्ष खनाल एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठसँग १ हजार ७८ मतले पराजीत भएका थिए ।
शनिबारदेखि सुरु बैठक आइतबार दिनभर पनि जारी छ । बैठकमा अध्यक्ष खनाललाई चुनावताका सघाउन आएका पार्टी केन्द्रीय सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य श्री प्रसाद साह सहित अञ्चल सचिव लक्ष्मण पौडेल, जिल्ला अध्यक्ष मनोज देवकोटा, पूर्व जिल्ला संयोजक रेवती पन्त लगायतका नेताहरु समेत सहभागि छन् । त्यस्तै बैठकमा क्षेत्र नं. १ अन्तर्गतका जिल्ला कमिटीका पदाधिकारी एवं सदस्य तथा क्षेत्रीय पदाधिकारीहरु समेत सहभागि छन् ।
अध्यक्ष खनालको हारबारे बैठकमा उपस्थित नेता कार्यकर्ताहरुबीच एक–अर्कामा आरोपप्रत्यारोप गरिरहेको एक नेताले बताए । सोमबार दिनभरपनि बैठक चल्ने बताईएको छ । चुनाव प्रचारप्रसारका क्रममा आफू एकसाता भन्दा बढी बस्ने क्रममा एमालेको लहर चलेपनि निर्वाचनमा हार व्यहोर्नुपरेपछि अध्यक्ष खनाल सर्लाही एमाले नेतृत्व लगायत क्षेत्र नं. १ का नेता कार्यकर्ताहरुसँग रुष्ट बनेका छन् । उनले प्रतिघातीहरु पहिचान गरि कडा कार्वाही गर्ने योजना समेत बनाएको एक पार्टी कार्यकर्ताले बताए ।
एमाले जिल्ला अध्यक्ष मनोज देवकोटाले बैठकमा अध्यक्ष खनाल हार्नुका कारणहरुको खोजी भईरहेको बताए । ‘‘घात प्रतिघात सहित राष्ट्रिय अध्यक्षले हार्नुका कारणहरुबारे छलफल जारी छ ।’’ देवकोटाले आइतबार राती सर्लाही दैनिकसँग भने–‘‘भोलीसम्ममा एउटा निश्कर्ष निस्कन्छ होला ।’’
उनले चुनावका क्रममा मतदाताबाट आएका माग एवं पार्टीको प्रतिबद्धता लिपिबद्ध गर्ने लगायतका काम पनि बैठकले गर्ने बताए । क्षेत्र नं. १ को सम्पन्न भएपछि क्षेत्र नं. ३ को समिक्षा बैठक हुने र क्रमशः जिल्लाभर क्षेत्रीय स्तरमा बैठकहरु हुने देवकोटाले बताए । ‘‘केन्द्रीय कमिटीले दिएको निर्देशन अनुसार हाल मुलुकव्यापी रुपमा क्षेत्रीय तहमा समिक्षा बैठक भईरहेको छ ।’’ उनले भने–‘‘त्यही क्रममा सर्लाहीमा पनि समिक्षा सुरु भएको हो ।’’ एमालेका पूर्व जिल्ला संयोजक रेवती पन्तले समिक्षा बैठकमा गम्भिर ढंगले छलफल भईरहेको बताए ।
No comments:
Post a Comment