ईष्टमेट नहुँदा जिविसका योजनामा ढिलाई
मलंगवा, माघ ०१ । जिल्ला विकास समितिको कार्यालयले चालु आर्थिक वर्ष (०७०÷०७१) का विकासे योजनाहरु माघबाटै सुरु गर्ने गरी तयारी गरेको भएपनि जिल्ला प्राविधिक कार्यालयबाट योजनाहरुको लगत ईष्टमेट नहुँदा त्यसमा ढिलाई हुने भएको छ । स्थानीय विकास अधिकारी उमेश बस्नेतले जिल्ला प्राविधिक कार्यालयबाट योजनाहरुको हालसम्म लगत ईष्टमेट नआईपुगेको बताए । ‘‘हालसम्म प्राविधिक कार्यालयबाट लगत ईष्टमेट आएको छैन ।’’ बुधबार सर्लाही दैनिकसँग कुरा गर्दै स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘त्यसका कारण समयमै योजना सम्पन्न गर्ने काममा अवरोध हुन सक्छ ।’’
जिविसका योजनाहरु सञ्चालन गर्ने प्रकृया र छिटो छरितो योजना सञ्चालन गर्ने बारेमा गत मंसिर अन्तिम साता सर्वदलिय बैठक राखेका थिए । उक्त बैठकमा जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख कमलेश्वरप्रसाद बर्माले पुस मसान्त भित्र जिविसबाट सञ्चालन हुने योजनाहरुको लगत ईष्टमेट तयार पारिसक्ने प्रतिबद्धता जनाएका थिए । तर उनको प्रतिबद्धता विपरित जिल्ला प्राविधिक कार्यालयले जिविसबाट सञ्चालन हुने एउटा पनि योजनाहरुको लगत ईष्टमेट हालसम्म तयार पारेको छैन ।
ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरएआईडिपी) अन्तर्गत दुईवटा कर्मैया–हथियौल र जानकीनगर–कौडेना सडकखण्ड मर्मत संभारको काममा व्यस्त हुनु परेकाले जिविसका योजनाहरुको लगत ईष्टमेट गर्न नसकिएको प्राविधिक प्रमुख बर्माले बताए । ‘‘पुस महिना भर आरएआईडिपी अन्तर्गतका सडकमा व्यस्त हुनु परेकाले जिविसका योजनाहरुको लगत ईष्टमेट तयार पार्न सकेनौं ।’’ उनले सर्लाही दैनिकसँग भने–‘‘अब १÷२ दिनभित्र जिविसका योजनाहरुको लगत ईष्टमेट सुरु गर्छौं ।’’
जिविसबाट सञ्चालन हुने साना–ठूला गरेर झण्डै सयवटा योजनाहरुको लगत ईष्टमेट तयार पार्नुपर्ने जिविस कार्यालयले जनाएको छ । त्यसबाहेक गाविसको कार्यालयहरुबाट तथा अन्य विभिन्न कार्यालयहरुबाट समेत उल्लेख्य संख्यामा योजना सञ्चालन हुने गर्दछ । लगत ईष्टमेट तयार पार्ने काममा नै ढिलाई भए, योजना सञ्चालनका लागि उपभोक्ता समितिसँग सम्झौता गर्ने, टेण्डर आव्हान गर्ने लगायत काम पनि ढिलाई हुने र समग्रमा समयमै योजना सम्पन्न नहुने अवस्था आउने स्थानीय विकास अधिकारी बस्नेतले बताए ।
विगतमा जेठ असारमा मात्र सम्झौताको काम सुरु गर्ने र योजनाका बजेटहरु फ्रिज (फिर्ता) गर्ने जिल्लाको प्रचलन अन्त्य गर्दै यसवर्ष प्रभावकारी ढंगले बेलैमा काम सुरु गराउने गरी प्रकृया अगाडी बढाईएको स्थानीय विकास अधिकारी बस्नेतले दावी गर्दै आएका छन् । सोही अनुसार नै स्थानीय विकास अधिकारी बस्नेतले सर्वदलीय बैठकमै प्राविधिक प्रमुखबाट लगत ईष्टमेट तयार पार्ने समयावधीको प्रतिबद्धता जनाएका थिए ।
यसवर्ष जिविसमा सरकारी अनुदान बापत ७० लाख, कृषि सडकमा १ करोड १० लाख, खानेपानी तथा सरसफाईमा ३५ लाख, सानासिंचाईमा २५ लाख, नदी नियन्त्रण्मा १५ लाख, सुनौला हजार दिन कार्यक्रममा ३ करोड, स्थानीय स्तरका सडकपुलमा ५० लाख, झोलुंगे पुलमा ५६ लाख लगायत अन्य विभिन्न शिर्षकहरुमा बजेट रहेको छ । जिविसको आÇनै ५ करोड हाराहारीमा आन्तरिक आम्दानीबाट समेत चालु खर्च छुट्ट्याएर बाँकी रहेको बजेटबाट विकास निर्माणका कामहरु हुनेछन् । जिविसका विकास निर्माण सम्बन्धी योजनाहरु हरेकवर्ष आर्थिक वर्षको अन्तिम समय अर्थात जेठ र असारमै सम्झौता गर्ने र वर्षातमा योजनाहरुको काम सुरु गर्दा प्रभावकारी विकास निर्माण नहुने गरेको गुनासो आउने गरेको छ । आर्थिकवर्षको अन्तिम समयमा मात्र योजनाको सम्झौता भई भारी वर्षातको समयमा काम सुरु गर्ने र अधिकांश योजनाहरुमा अनियमितता हुने गरेको जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment