नवलपुरको व्यापारी नेतामा विवाद
सर्लाही समाचारदाता
नवलपुर, माघ ४ । नवलपुर व्यापार कल्याणकारी समितिको नेतृत्व चयन गर्न शनिबार बसेको साधारण सभा विवादका कारण विना निश्कर्ष टुंगीएको छ ।
सदस्य संख्या लगायतमा विवाद भएपछि साधारण सभाले व्यापारीहरुको नेतृत्व चयन गर्न नसकेको हो । केही समयअघि सम्म ९५ जना सदस्य रहेकामा शनिबारको साधारण सभामा एकाएक २ सय ९५ जना सदस्य देखिएपछि विवाद खडा भएको थियो ।
‘‘केही समयअघिसम्म समितिमा ९५ जना मात्र सदस्य रहेका थिए ।’’ नवलपुर चोक स्थित ज्ञानज्योती पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठले भने–‘‘तर साधारण सभामा एकाएक २ सय ९५ जना साधारण सदस्य भईसकेका रहेछन्, समितिमा त व्यापारी बाहेक चिन्दै नचिनेकाले पनि सदस्यता पाईसकेका रहेछन् ।’’ हरिवन, लालबन्दी जस्ता ठूला बजारका उद्योग वाणिज्य संघहरुमा सयजना हाराहारीमा सदस्यता रहेका भएपनि आंशिक रुपमा केही सानो रहेको नवलपुर बजारमा भने २ सय ९५ जना सदस्य रहेको भेटिएपछि केही व्यापारीहरु रुष्ट बनेका थिए । उद्योग वाणिज्य संघको मान्यता नभईसकेको नवलपुर व्यापार कल्याण समितिको सदस्यमा भने एकाएक बढी संख्या देखिनुले राजनीति हावी हुन खोजेको भन्दै केही सदस्यहरु रुष्ट बनेका हुन् ।
यसैविच समितीको नयाँ नेतृत्व चयन लगायतमा सर्वसम्मति हुन नसकेपछि सन्जिव श्रीवास्तको संयोजकत्वमा ११ सदस्यीय पदाधिकारी छनोट समिती गठन गरिएको छ । पदाधिकारी छनोट गर्न गत पुस २५ गते सम्म सदस्यता नविकरण गरेकाहरुले मात्र मतदान गर्न दिने निर्णय भएको बताईएको छ । सदस्यताको विषयमा विवाद भएपछि श्रीवास्तवको नेतृत्वमा समिति गठन बाहेक साधारण सभाले अन्य निर्णय गर्न सकेन ।
त्यसअघि समितिका अध्यक्ष धुव्र कुमार श्रेष्ठको अध्यक्षता तथा गाविस सचिव गोपाल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा समितीका सचिव बोधराज काफ्लेले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा ट्राफिक प्रहरी निरिक्षक कमल खत्री, कृषि उपज बजार नवलपुरका इस्कीलाल पासवान, भिम पौडेल, हरेराम बस्नेत, उद्धव पौडेल लगायतले मन्तव्य राखेका थिए ।
श्रीवास्तव नेतृत्वको समितिले केही दिनभित्र समस्या समाधानको विकल्प प्रस्तुत गर्नेमा व्यापारीहरु आशातित समेत देखिएका छन् ।
No comments:
Post a Comment