‘समाज सुधारमा संचारकर्मीको आवश्यक्ता’
सर्लाही समाचारदाता
हरिवन, फागुन २२ । सर्लाही जिल्ला अदातलका न्यायाधिस कृष्णकमल अधिकारीले समाज सुधारका लागि पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
पत्रकारिता विकास प्रतिष्ठानको १४औं वार्षिकोत्सवको अवसरमा सर्लाही पत्रकारिता पुरस्कार प्रदान तथा जिल्ला विकास विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले सोकुरा बताएका हुन ।
संचारमा विषयको संवेदनशिलता र राम्रा नराम्रा दुवै क्षेत्रको उजागर गर्नुपर्ने संचारकर्मीको प्रमुख दायित्व हुने उल्लेख गर्दै न्यायधिस अधिकारीले समाजप्रति उत्तरदायित्व हुदै अगाडी बढ्न आग्रह गरेका थिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले संचारकर्मीको क्षमता विकास गराउँदै समाजमा कार्य गर्ने समुदाय, व्यक्तिलाई हौसल्ला दिदै नैतिकताको पाठ सिकाउन संचार माध्यमले प्रोत्साहित गर्नुपर्ने बताएका थिए । त्यसैगरी स्थानिय विकास अधिकारी उमेश बस्नेतले आफ्नो अनुभव सर्लाहीमा काम नलागेको बताउँदै, जिल्लामा अतिरंजित घटनाले प्रशय पाएको बताए ।
उनले भने –‘बजारमा आए जस्तो स्थानिय निकायको निराशाजनक कार्य वास्तवमा छैन ।’ श्रोत र साधनको प्रवाहमा कमी आएकाले जिल्लाको विकास पछाडी परेको अधिकारी बस्नेतले स्वीकार गरे । जिल्लाको विकास कार्य ठोस रुपले अगाडी बढाउन लाग्दा संविधान सभामा निर्वाचित ६ वटै क्षेत्रका सभासद्हरुले रकम बराबरी बाड्न दवाव आएको जनाउँदै आफुबाट अनियमितता कार्य नहुने बताए । उनले भने–‘बरु जागिर गए जाओस् तर मबाट गलत कार्यको समर्थन हुँदैन ।’ विभिन्न प्रसंगको जवाफ दिने क्रममा अधिकारी बस्नेतले जिल्ला प्राविधिक कार्यालयले समयमै इस्टिमेट नदिने गरेकाले विकास कार्यमा ढिला हुने गरेको बताए । जिल्लामा राजनैतिक दलको निर्णय कमजोर रहेको बताउँदै बस्नेतले दलले उचित निर्णय गर्न नसक्दा कर्मचारीलाई कार्य गर्न समस्या भएको जनाए ।
प्रतिष्ठानका अध्यक्ष राजेश मिश्रको सभापतित्व एवं संचारकर्मी शुनिल ठाकुरको संचालनमा भएको कार्यक्रममा पत्रकार चुडामणि वाग्लले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने मलंगवा नगरपालिका कार्यकारी अधिकृत रामचरित्र मेहता, गाविस सचिव हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष हरिकान्तलाल कर्ण, निर्णायक समितिका संयोजक एवं सदस्यहरु रजनीकान्त झा, भवानी कोइराला, नागरिक समाजका अगुवा उग्रकान्त झा लगायतका वक्ताहरुले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायत विजयी प्यानलका सम्पूर्ण पदाधिकारीलाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment