Thursday, March 6, 2014

पत्रकार महासंघमा कोइरालाको प्यानल नै विजयी

पत्रकार महासंघमा कोइरालाको प्यानल नै विजयी
सर्लाही समाचारदाता
मलंगवा, फागुन २१ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको बुधबार सम्पन्न ७औं अधिवेशनले अमन कोइरालाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नवगठित समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विश्वनाथ ठाकुर, जितेन्द्रकुमार सिंह, सत्यप्रकाश यादव र कृष्ण थपलिया चयन भएका छन् । कार्यसमितिका सदस्यहरुमा मो. अनवर अहमद, भक्ति रिजाल, ठाकुरप्रसाद बख्रेल, उदय राय, सुनिल ठाकुर (मधेशी), रुपबहादुर विश्वकर्मा (दलित), सचिता बुढाथोकी (महिला) र पार्वती पाख्रीन (जनजाती) चयन भएका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिमा चूडामणि वाग्ले, शंकर श्रेष्ठ, रोशन न्यौपाने, टंकबहादुर क्षेत्री, डुकुप्रसाद कोइराला र ओमप्रकाश ठाकुर, निर्वाचित भएका छन् ।
अधिवेशनमा शाखा अध्यक्ष र केन्द्रिय पार्षदका लागि निर्वाचन भएको थियो भने उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सदस्यहरुमा निर्विरोध भएका थिए । निर्वाचनको माध्यमबाट चयन भएका अध्यक्ष कोइरालाले ३१ मत ल्याएका थिए भने उनका मुख्य प्रतिद्वन्द्वी विद्यानन्द रायले ७ मतमात्र प्राप्त पत्रकार...........
गरेका थिए ।
त्यस्तैगरी केन्द्रिय पार्षदमा टंकबहादुर क्षेत्रीले ३३ मत, चूडामणि वाग्ले ३२, शंकर श्रेष्ठ ३२, डुकुप्रसाद कोइराला ३२, रोशन न्यौपाने ३१ र ओमप्रकाश ठाकुरले २४ मत ल्याएर विजयी भएका छन् । केन्द्रिय पार्षदमा उम्मेद्वारी दिएका इन्द्रप्रसाद न्यौपानेले १२ मत, कृष्णकुमार एस्माली ११, रामबाबु खड्का ९ र रेवत अधिकारीले ९ मत मात्र प्राप्त गरेका थिए । ६ जना केन्द्रिय पार्षदका लागि १० जना उम्मेद्वार खडा भएको मतदान प्रकृयामा कुल ३८ जनाले मतदान गरेका थिए ।
अधिवेशन सम्पन्न गर्नका लागि पत्रकार महासंघका केन्द्रिय कार्यालयबाट केन्द्रिय प्रतिनिधि विजय मिश्र खटिएका थिए भने भरसक सर्वसम्मत र केही नलागे नव निर्वाचित अध्यक्ष कोइरालाको प्यानललाई नै विजयी गराउन सर्लाही निवासी पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश मिश्रको मुख्य भूमिका निर्वाह रहेको थियो । नयाँ नेतृत्व चयनका लागि पत्रकार अजितकुमार सिंहको संयोजकत्व एवं अधिवक्ता रञ्जित पाण्डे र पत्रकार सुदर्शन रिजाल सदस्य रहेको निर्वाचन समिति रहेको थियो ।
निवर्तमान अध्यक्ष रोशन न्यौपानेले कार्यालय भवनको साँचो, माइन्यूट लगायत कागजातहरु नव निर्वाचित अध्यक्ष अमन कोइरालालाई एकसमारोहबीच हस्तान्तरण गरेका थिए भने नव निर्वाचित जिल्ला कार्यसमितिका अध्यक्ष सहित पदाधिकारी र सदस्य तथा केन्द्रिय पार्षदहरुलाई विजयी भएको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
त्यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला न्यायधिश शंकरराज बरालले समाज परिवर्तनमा संचारकर्मीको उल्लेखनीय भूमिका हुनुपर्ने बताए । महासंघका तत्कालिन अध्यक्ष रोशन न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र पोखरेल, स्थानीय विकास अधिकारी उमेश बस्नेत, प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक र सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सुनिल ठाकुरको सञ्चालन रहेको उद्घाटन समारोहमा तत्कालिन सचिव ओमप्रकाश ठाकुरले स्वागत गरेका थिए ।

No comments:

Post a Comment