Sunday, October 27, 2013

कामसुरु नभएसम्म यातायात बन्द

कामसुरु नभएसम्म यातायात बन्द
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०८ । सडकखण्ड मर्मतको माग राखेर यातायात व्यवसायी हड्तालमा उत्रिएका कारण तेस्रो दिन शुक्रबार पनि नवलपुर–मलंगवा सडकखण्डमा सार्वजनिक सवारी साधन चलेनन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी अनिश्चित हड्तालमा उत्रिएका हुन् । तीनदिनदेखि सार्वजनिक सवारी साधन नचलेका कारण उत्तरी क्षेत्रबाट सरकारी काम परेर सदरमुकाम मलंगवा आउनुपर्ने र दक्षिणी क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जानुपर्ने सर्वसाधारण तथा सदरमुकाम मलंगवा स्थित कार्यालयमा दैनिक काम गर्न आउनुपर्ने कर्मचारी मारमा परेका छन् ।
मर्मत संभारका लागि ग्रेडर सहितका उपकरणहरु चलाउन सुरु नभएसम्म यातायात बन्द जारी रहने सर्लाही बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए । सडकमा  काम..........
यातायत नै चलाउन नहुनेगरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि २५ किलोमिटर नवलपुर–मलंगवा सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय सर्लाही यातायात व्यवसायी संघले गत मंगलबार गरेको थियो । संघको निर्णय अनुसार बुधबारदेखि उक्त सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका छैनन् । नवलपुरदेखि मलंगवासम्मको २५ किलोमिटर दुरीमा आधा घण्टा मात्र समय लाग्नुपर्ने भएपनि जिर्ण सडकका कारण दुई घण्टासम्म लाग्ने गरेको र सवारी साधनमा टुट्फुट् एवं दुर्घटना समेत बढेका कारण अनिश्चितकालिन हड्तालमा उत्रनु परेको अध्यक्ष रायले बताए ।
बुधबारदेखि सुरु भएको यातायात व्यवसायीको हड्तालका कारण नवलपुर–मलंगवा सडकखण्डमा निजी सवारी साधनमात्र सुचारु थिए । मलंगवा जाने सार्वजनिक बस तथा सवारी साधनहरु नवलपुरमै थन्केर बसेका छन् भने नवलपुरतर्फ आउने सार्वजनिक सवारी साधन मलंगवामै थुप्रेर बसेका छन् ।
जिर्ण सडकका कारण आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समेत गम्भिर कठिनाई परेको जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले पनि सडक मर्मतका लागि पहल गर्न गृहमन्त्रालय समक्ष माग गरेको थियो ।
नवलपुर–मलंगवा सडकखण्डमा आगामी आइतबारबाट भारतीय ठेकेदार कम्पनी भिश्वा कन्स्ट्रक्शनले मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएको छ । बिहिबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको बैठकमा भारतीय ठेकेदार कम्पनी भिश्वाका प्रतिनिधिले आगामी आइतबारदेखि नवलपुर–मलंगवा सडकखण्डमा मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालय अन्गर्त हुलाकी राजमार्ग आयोजनाका प्रमुख विरेन्द्र वादे श्रेष्ठले नवलपुर–मलंगवा सडकखण्ड सहित तराईका हुलाकी राजमार्ग पुनर्निर्माण कार्य हेर्ने दुवै देशका सम्बन्धित अधिकारीहरु रहने ‘स्टेरिङ’ कमिटीको बैठकमा भारतीय ठेकेदारले प्रतिबद्धता जनाएको बताए ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको १ प्रतिशत पनि काम भएको   छैन । सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक २६ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही महिनादेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । तलब नपाएका कारण हाल उक्त कम्पनिका मजदुरले समेत काम छाडेको बताईएको छ ।

No comments:

Post a Comment