सर्लाहीको दशैंखर्च एकअर्ब !
सर्लाही समाचारदाता
मलंगवा, असोज २५ । दशैको पूर्वसन्ध्यामा सर्लाही स्थित विभिन्न बैंक तथा वितिय संस्थाबाट डेढ अर्ब हाराहारीमा भुक्तानी भएको अनुमान गरिएको छ ।
हिन्दु समुदायको महान चाड विजयादशमी र मुस्लिम समुदायको पर्व बकरईदको पूर्वसन्ध्यामा बैंक तथा वितिय संस्थाहरुबाट झिकिएका उक्त सर्लाहीको रकममध्ये अधिकांश चाडबाडमै खर्च हुने जानकारहरु बताउँछन् । जिल्ला स्थित शिक्षकहरुको तलब, गाविस कार्यालयका सचिव एवं त्यसमा कार्यरत कर्मचारी, विभिन्न सरकारी तथा अर्ध सरकारी कार्यालयका कर्मचारीको तलब, निवृत्तिभरण पाएका सरकारी कर्मचारीहरुको पेन्सन, विदेशमा रोजगारी गरिरहेकाहरुबाट पठाईएको रकम सहित केही विकासे कार्यक्रमको बजेट बापतको भुक्तानीमा उक्त रकम निकासा भएको हो । भुक्तानी बापत लिईएको रकममध्ये अधिकांश चाडबाडमा खर्च गर्नैका लागि प्रयोग हुनेहुँदा सर्लाहीमा दशैंका लागि मात्र १ अर्ब हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । कतिपय कर्मचारीहरु भने बाहिरि जिल्लाका भएकाले त्यसमा केही घटबढ हुने जानकारहरु बताउँछन् ।
नेपाल बैंक लिमिटेड मलंगवाबाट मात्र घटस्थापनादेखि विहिबारसाँझसम्म ४५ करोड भन्दा बढी भुक्तानी दिईएको प्रबन्धक विद्याकान्त झाले बताए । मंगलबार र बुधबार त भुक्तानी लिन आउनेहरुको अत्यन्त भिड रहेकाले प्रहरी परिचालन नै गर्नु परेको प्रबन्धक झाले बताए ।
राष्ट्रिय बाणिज्य बैंक लालबन्दीबाट घटस्थापना लागेयता विहिबारसम्म साँढे १२ करोडभन्दा बढी भुक्तानी गरिएको बैंकका प्रबन्धक दिपक न्यौपानेले बताए । त्यस्तै नेपाल बैंक लिमिटेड हरिवनबाट ८ करोडभन्दा बढी भुक्तानी भएको बैंक सम्बद्ध कर्मचारीहरुले बताएका छन् ।
जिल्ला स्थित मेघा बैंक, एनआईसीएशिया बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, बागमति डेभलपमेण्ट बैंक, कृषि विकास बैंकका शाखाहरुमा समेत भुक्तानी लिनेहरुको भिड लागेको थियो । जिल्ला स्थित सबै वितिय संस्थाहरुबाट डेढ अर्ब हाराहारीमा भुक्तानी भएको जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment