Friday, October 25, 2013

यस्ता छन् सर्लाहीबाट समानुपातिक उम्मेद्वार

यस्ता छन् सर्लाहीबाट समानुपातिक उम्मेद्वार
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । आगामी संविधान सभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुापतिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेद्वारहरुको नामावाली बुधबार प्रकाशित गरेको छ । जसअनुसार सर्लाहीबाट मात्र सयजना भन्दा बढीको नाम समानुपातिक उम्मेद्वारमा परेको अनुमान गरिएको छ । जानकारी गराईए अनुसार सर्लाहीबाट सबैभन्दा बढी तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिकमा नाम परेको छ । एकिकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले), मधेशी जन अधिकार फोरम नेपाल, मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी लगायतका जिल्ला नेतृत्वबाट निर्वाचन आयोगद्वारा प्रकाशित नामावलीमा सर्लाहीबाट समेटीएका बारेमा जानकारी प्राप्त भएपनि अन्य विभिन्न पार्टीहरुसँग सम्पर्क हुन सकेन भने केही दलका जिल्ला नेतृत्वले बताउन सकेन ।
निर्वाचन आयोगले प्रकाशित गरेको समानुपातिक उम्मेद्वारहरुको नामावली अनुसार एकिकृत नेकपा माओवादीबाट सर्लाहीका ४ जना समेटिएका छन् । जसअनुसार प्रल्लाद बुढाथोकी, माया बल, सुरज कुमारी यादव (विनिता) र शम्भु पासवान रहेका छन् । समानुपातिकमा नाम सिफारिस भएका प्रल्लाद बुढाथोकी पार्टीको केन्द्रीय कार्यालय सचिव हुन् । विहिबार सर्लाही दैनिकलाई बुढाथोकीले बताएअनुसार बल हरिवन र विनिता लालबन्दीकी हुन् । पासवानको भने ठेगाना खुल्न सकेको छैन । एमाओवादी क्षेत्र नं. ३ की इन्चार्ज समेत रहेकी बल पार्टीले क्षेत्र नं. ३ मा खडा गरेको उम्मेद्वारको विषयमा असन्तुष्ट बन्दै सार्वजनिक रुपमै विरोधमा उत्रेकी थिईन् । पार्टीका उम्मेद्वारको विरोध गरेपछि थमथम्याउन उनलाई समानुपातिक उम्मेद्वारको रुपमा उभ्याएको हुनसक्ने जानकारहरु बताउँछन् ।
त्यस्तै नेपाली कांग्रेसबाट भने समानुपातिक उम्मेद्वारमा तीनजना मात्र पर्न सफल भएका छन् । जिल्ला सभापति लक्ष्मण रायका अनुसार हरेस महतो, उपेन्द्र कुशवाह र कारोवती सिंह दनुवार रहेका छन् । जिल्लाबाट नाम नै सिफारिस नभएपनि महतो समानुपातिकको उम्मेद्वारको नामावलीमा परेका छन् । क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्म्देवार बन्ने दौडमा रहेका महतोलाई समानुपातिकमा नाम राख्ने आश्वासन दिदै कांग्रेसले मिना पाण्डेलाई प्रत्यक्षतर्फ उम्मेद्वार खडा गरेको थियो । कांग्रेसकी केन्द्रीय स्तरकी नेतृ समेत रहेकी पाण्डे तथा नेता विमलेन्द्र निधिको दवावमा महतोलाई समानुपातिकमा पारिएको कांग्रेस सर्लाहीका नेताहरुले बताएका छन् । त्यस्तै कारोवतीलाई पनि पाण्डेकै पहलमा समानुपातिक उम्मेद्वारमा पारिएको जानकारहरु बताउँछन् । कुशवाहलाई भने कांग्रेसमा पछिल्लो समय हावी बन्दै गएका डा. अमरेश कुमार सिंहको दवावमा समानुपातिक उम्मेद्वार बनाईएको बताईन्छ ।
त्यसैगरी नेकपा (एमाले) बाट सर्लाहीका ७ जना समानुपातिक उम्मेद्वारमा परेका छन् । एमाले जिल्ला सचिव डिल्लीप्रसाद उप्रेतीका अनुसार रविन्द्र बैठा (संग्रामपुर), कमलादेवी महतो (सिमराभगवतीपुर), लक्ष्मण पौडेल (कर्मैया), रञ्जना सरकार (हरिपुर), सुमन धामी(हरिपुर), सरनारायण महतो (गौरिशंकर) र ललिता चौधरी (मलंगवा) रहेका   छन् । ‘‘मेरो जानकारी अनुसार अहिलेसम्म यति नामावली मात्र थाहा   छ ।’’ बिहिबार सर्लाही दैनिकलाई उपे्रतीले बताए । जानकारहरुका अनुसार तीन प्रमुख दलहरु एनेकपा माओवादी, कांग्रेस र एमाले मध्ये राष्ट्रिय अध्यक्ष झलनाथ खनाल नै सर्लाहीको क्षेत्र नं. १ बाट उम्मेद्वार बनेकाले एमालेबाट समानुपातिक उम्मेद्वारमा जिल्लाबाट बढी परेका छन् ।
त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीबाट सर्लाहीका १२ जना समानुपातिक उम्मेद्वारको नामावलीमा परेको जिल्ला अध्यक्ष जंगीलाल रायले दावी गरे । ‘‘पार्टीबाट हाम्रो जिल्लालाई १२ जनाको कोटा नै थियो ।’’ जिल्ला अध्यक्ष रायले विहिबार सर्लाही दैनिकसँग दावी गरे–‘‘कोटा अनुसार नै नाम परेको छ ।’’ पत्रिका हेर्न नपाएकाले को–को परे भन्ने बारे आफुलाई थाहा नभएको विहिबार साँझ रायले बताए । तमलोपा स्रोतका अनुसार भर्खरै तमलोपा प्रवेश गरेका केदारनन्दन चौधरी, उदयनारायण चौधरी पनि समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छन् । त्यस्तै केन्द्रीय सदस्य प्रदिपनारायण यादव, पूर्व सहायक मन्त्री चन्दा चौधरी, डा. नागेन्द्रप्रसाद साह, भैरव झा, रामप्रवेश वैठा, कुस्मादेवी, कृष्णकुमार यादव लगायत सर्लाहीबाट १२ जना समानुपातिक उम्मेद्वार रहेको बताईएको छ ।
त्यसैगरी मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट ११ जना समानुपातिक उम्मेद्वारको नामावलीमा समावेश भएको जिल्ला अध्यक्ष रामवली रायले दावी गरे । भर्खरै मजफो लोकतान्त्रिक प्रवेश गरेका बरहथवाका रामचन्द्र महतो नुनिया पनि समानुपातिक उम्मेद्वारको रुपमा पार्टीले नाम समावेश गरेको छ । त्यस्तै महेन्द्र सहनी (हथियौल हाल हजरिया), अन्तोष दास (हजरिया), गोपीकान्त दास (सुन्दरपुर), रामइश्वर राय (सुन्दरपुर), शेष नुर महम्मद् (हरिवन), वैजनाथ महतो (अर्नाहा), जवाहरलाल यादव (सिमरा), सुवेदार चौधरी (इश्वरपुर), कृष्णादेवी महतो (मूर्तिया) र मुनेश्वर राय (हरिपुर) रहेका छन् ।
त्यस्तै मधेशी जन अधिकार फोरम नेपालबाट सर्लाहीका आठ जना समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छन् । कृष्णदेव यादव (सर्लाही क्याम्पस पूर्व प्रमुख), विद्या सिन्हा (बलरा), सुनैना चौधरी (सलेमपुर), विना सिन्हा (खैर्वा), सिमा सिंह (छतौना) रहेका छन् । पार्टीका विदेय क्षेत्र इन्चार्ज एवं समानुपातिक उम्मेद्वार कृष्णदेव यादवका अनुसार अन्य समानुपातिक उम्मेद्वारहरुमा रोशन आरा           (मलंगवा), मुद्रिका पासवान (हेमपुर) र नाजिमा खातुन (भाँडसर) रहेका छन् । फोरम नेपालबाट समानुपातिक उम्मेद्वारमा परेका आठजना मध्ये सातजना महिला रहेका छन् ।
अन्य विभिन्न पार्टीहरुबाट समेत समानुपातिक उम्मे्दवारमा परेका भएपनि सम्पर्क हुन नसकेका कारण र जिल्ला नेतृत्वले बताउन नसकेका एवं नचाहेका कारण यस सर्लाही दैनिकलाई नामावली उपलब्ध हुन सकेन । प्राप्त भएका नामावलीहरु पनि सम्बन्धित पार्टीका जिल्ला नेतृत्वसँग टेलिफोन सम्पर्कका भरमा लिईएकाले निर्वाचन आयोगबाटै पुष्टि भएका नाम भने हैनन् । निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीमा ठेगाना उल्लेख नभएकाले र एउटै नाम अन्य जिल्लाका नेता कार्यकर्तासँग पनि मिल्ने भएकाले सर्लाहीबाट परेका भनेर किटानी गर्न सकिएन । समानुपातिक उम्मेद्वारको रुपमा नाम पारिदिउँला भन्दै विभिन्न नेता कार्यकर्ताहरुलाई प्रलोभन देखाईएको र पार्टी नै प्रवेश गराईएकाले जिल्ला नेतृत्वले नामावली दिन नचाहेको जानकारहरु बताउँछन् । ठूला मानिएका एनेकपा माओवादी, नेपाली कांग्रेस र एमालेमा लामो योगदान दिएका र जिल्लामा उच्च तहमा काम गरिरहेका नेताकार्यकर्ताहरु समेत समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छैनन् ।

No comments:

Post a Comment