कार्यकर्ता भेला एवं शुभकामना
सर्लाही समाचारदाता
लालबन्दी, असोज २५ । नेकपा एमाले सर्लाहीले शुक्रबार लालबन्दीमा कार्यकर्ता भेला एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला कमिटी अध्यक्ष मनोज देवककोटाको सभापतित्वमा भएको कार्यक्रममा एमाले राष्ट्रिय अध्यक्ष झलनाथ खनाल प्रमुख अतिथि रहेका थिए । लालबन्दी स्थित जानकी माविमा अपरान्ह भएको कार्यक्रममा एमाले नेताहरु लक्ष्मण पौडेल, रेवती पन्त, क्षेत्र नम्बर २ का उम्मेद्वार सुरेन्द लामा, क्षेत्र नं. ३ का उम्मेद्वार हरि उप्रेती, क्षेत्र नम्बर ४ का उम्मेद्वार राजनारायण साह लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सर्लाहीभरबाट नेकपा एमालेका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एमाले अध्यक्ष खनालले निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । उनले पार्टीको रणनीति लगायत विषयमा पनि सम्बोधन गरेका थिए । कार्यक्रममा महान चाड विजयादशमी, दिपावली, छठ एवं मुस्लिम समुदायको बकरईदको अवसरमा शुभकामना मन्तव्य समेत राखिएको थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष खनाल शुक्रबार राती लालबन्दी स्थित एमाले कार्यकर्ता नवराज मिश्रको घरमा बसेका छन् । उनी कात्तिक २० देखि ३० गतेसम्म क्षेत्र नं. १ मा प्रचार प्रसारमा जुट्ने एमाले सर्लाहीका पूर्व संयोजक रेवती पन्तले बताए । ‘‘कात्तिक २० गतेदेखि ३० गतेसम्म १ नं. क्षेत्र अन्तर्गतका १२ वटै गाविसमा अध्यक्ष झलनाथ खनाल प्रचार प्रसारमा घुम्ने कार्यक्रम तय भएको छ ।’’ पन्तले भने–‘‘गाउँ–गाउँमा घुमेर अध्यक्ष खनालले कार्यकर्ता एवं मतदातासँग भेटघाट गर्नुहुन्छ ।’’
त्यसैगरी लायन्स क्लब अफ बरहथवाले पनि शुक्रबार महान चाड विजया दशमी, दिपावली, छठ एवं मुस्लिम समुदायको पर्व वकरईदको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष अमरेन्द्र कुमार सिंहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
No comments:
Post a Comment