नवलपुर–मलंगवा सडकको पर्सी टुंगो लाग्ने
–टंकबहादुर क्षेत्री÷सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ४ । भारतीय ठेकेदार कम्पनीले सम्झौता अबधी भित्र पुनर्निर्माण कार्य सम्पन्न नगर्ने निश्चित भएपछि आम जिल्लाबासीको चासोको विषय बनिरहेको नवलपुर–मलंगवा सहित जिल्ला स्थित विभिन्न हुलाकी सडकखण्डहरुको मर्मतको बारेमा विहिबार टुंगो लाग्ने भएको छ । नेपाल र भारतका सम्बन्धित अधिकारीहरुबीच हुने उक्त छलफलमा भारतीय ठेकेदारले हालसम्म गरेको कामको प्रगति र भावि रणनीति समेत तय हुने बताईएको छ ।
आगामी विहिबार भारतीय सरकारका सहसचिव नेतृत्वको टोली र नेपाल सरकार भौतिक योजना निर्माण मन्त्रालयका सहसचिव नेतृत्वमा सम्बन्धित पक्षहरुबीच हुने बैठकले नवलपुर–मलंगवा सहित जिल्लामा जीर्ण बनेका सडकखण्डहरुको समयमै पुनर्निर्माण हुन नसकेकाले भावि रणनीति तय गर्ने बताईएको छ । सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीका अनुसार तराईका हुलाकी लगायत सडकखण्ड पुनर्निर्माण कार्य हेर्ने दुवै देशका सम्बन्धित अधिकारीहरु रहने ‘स्टेरिङ’ कमिटीको बैठक बस्न लागेको हो ।
पुनर्निमार्ण नहुँदा नवलपुर–मलंगवा सहित हुलाकी सडकखण्डहरु जीर्ण भएकाले सुरक्षा व्यवस्थामा समस्या परेको भन्दै जिल्ला सुरक्षा समितिको गत असोज १४ गते बसेको बैठकले संविधान सभा निर्वाचन अघि नै सो खण्ड मर्मतका लागि पहल गर्न गृह मन्त्रालयसँग माग गरेको थियो । निर्वाचनको सुरक्षालाई कारण देखाउँदै गृह मन्त्रालयबाट समेत चासो व्यक्त भएपछि सडक मर्मतका लागि पहल सुरु भएको हो ।
‘‘हामीले भारतीय राजदुतावास मार्फत भारत सरकारलाई ठेकेदारले सम्झौता अनुसार काम नगरेकाले तत्काल मर्मतका लागि मात्र भनेपनि बजेट उपलब्ध गराउन आग्रह नवलपुर......
गरिसकेका छौं, भारतीय राजदुत सकारात्मक हुनुहुन्छ ।’’ सडक विभागका महानिर्देशक कार्कीले सोमबार सर्लाही दैनिकसँग टेलिफोन सम्पर्कमा भने–‘‘भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिवज्यूको अध्यक्षतामा रहेको स्टेरिङ कमिटीको विहिबार बस्ने बैठकले त्यसबारेमा उचित निर्णय गर्नेछ ।’’
नवलपुर–मलंगवा लगायत हुलाकी सडकखण्ड हेर्ने जिम्मेवारी पाएको सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग आयोजना काठमाण्डौका प्रमुख विजेन्द्र बादे श्रेष्ठले नवलपुर–मलंगवा लगायत जीर्ण सडकखण्डहरु तत्काल मर्मत कार्य गराउनका लागि भारतीय पक्षलाई निरन्तर दवाव दिइरहेको बताए । ‘‘उक्त सडकहरु पुनर्निर्माणका लागि भारतीय ठेकेदारलाई हस्तान्तरण गरिसकिएको छ ।’’ श्रेष्ठले सर्लाही दैनिकसँग टेलिफोन सम्पर्कमा भने–‘‘त्यसैले भारतीय सरकारबाटै बजेट आएर सोही ठेकेदारबाट तत्काल मर्मतको काम हुन्छ, नेपाल सरकारले केही गर्न सक्दैन ।’’
बैठकमा हुलाकी रामार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायको पनि सहभागिता रहेन छ । सडकको पछिल्लो अवस्था र त्यसबाट सिर्जित समस्याका बारेमा बैठकमा कुरा राख्ने योजना कार्यालय प्रमुख रायले बताए ।
जीर्ण सडकका कारण निर्वाचनको सुरक्षामा नै प्रभाव पर्ने भएकाले जिल्ला सुरक्षा समितिकै निर्णयबाट तत्काल मर्मतको माग गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । ‘‘पुनर्निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदार कम्पनीको लापरवाहीका कारण नवलपुर–मलंगवा सडकखण्ड तोकिएको समयमा निर्माण नहुँदा आम सर्वसाधारणलाई मात्र हैन सुरक्षा व्यवस्थामा समेत प्रभाव परेको छ ।’’ प्रजिअ घिमिरेको गुनासो थियो–‘‘ठेकेदारको लापरवाही थाहा हुँदा हुँदै पनि दुईदेशको कुरा भएकाले माथिल्लो निकायमा जानकारी तथा ताकेता गर्ने बाहेक कुनै कार्वाही प्रकृया अगाडी बढाउन सकिएन ।’’
समितिका सदस्य एवं प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले सडकको दुराअवस्थाका कारण सुरक्षामा प्रतिकुल असर परिरहेको बताए । ‘‘माथिल्लो निकायले मलंगवाबाट नवलपुर पुग्ने सुरक्षा टोलीको समय २५ मिनेट राखेको हुन्छ, तर हामीलाई डेढ घण्टा लाग्ने गरेको छ ।’’ प्रहरी उपरीक्षक धानुकले भने–‘‘घटना हुनेवितिकै थाह भएपनि सडकमा ठूला–ठूला खाडल भएका कारण समयमै सुरक्षाकर्मीको टोली पुग्न सक्दैनन् र सुरक्षा व्यवस्थामा प्रतिकुल असर परिरहेको छ ।’’ आगामी संविधान सभा निर्वाचनमा समेत सुरक्षा व्यवस्था मिलाउन जीर्ण सडकहरुका कारण कठिनाई हुने प्रहरी उपरीक्षक धानुक बताउछन् ।
नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सडक पुनर्निर्माणका काम समयमै नहुँदा आम जिल्लाबासी मारमा परेको बताए । ‘‘भारतीय ठेकेदारको लापरवाहीका कारण आम सर्लाहीबासी सहित उक्त सडक प्रयोग गर्ने जो कोहीले पीडा बहन गर्नुपरिरहेको छ ।’’ चोधरीले भने ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको १ प्रतिशत पनि काम भएको छैन ।
सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक २६ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही महिनादेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । तलब नपाएका कारण हाल उक्त कम्पनिका मजदुरले समेत काम छाडेको बताईएको छ ।
No comments:
Post a Comment