गाँजाका आरोपी महिला तारेखमा
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ६ । गाँजा ओसारपसारको आरोपमा पक्राउ परेका दुई महिलालाई जिल्ला प्रहरी कार्यालयले बुधबार तारेखमा छाडेको छ ।
काठमाण्डौबाट मलंगवा हुँदै चक्करघट्टा बजार जान लागेको रात्रीबसमा गत मंगलबार २ वटा व्यागमा रहेको करिब १० किलो गाँजा बरामद भएपछि बसमै रहेका सक्रौल गाविस–८ की मनोहरी देवी र मोतीपुर गाविस–५ की उषा राउतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका महिलाबाट गाँजाको झोला आÇनो नभएको दावी आएकाले तत्काललाई घटनाबारे अनुसन्धान जारी राखेर उनीहरुलाई तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । ‘‘पक्राउ परेका महिलाहरुबाट गाँजाको झोलाबारे इन्कारी आयो र बसका मजदुरहरुले पनि झोलाबारे किटानी गर्न नसकेकाले उनीहरुलाई तारेखमा छाडियो ।’’ प्रवक्ता ओलीले बुधबार सर्लाही दैनिकसँग भने–‘‘भोली बसका मजदुरहरुलाई बोलाएर अझ विस्तृतमा अनुसन्धान गर्छौं, गाँजाको झोला महिलाहरुकै रहेको भन्ने किटानी कतैबाट नखुलेकाले तत्कालका लागि तारेखमा छाडेका हौं ।’’ पक्राउ परेकी मनोहरीको साथमा भने १ वर्षको बच्चा समेत रहेको थियो । मलंगवा–२ को कृष्णचोकमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा ना. ४ ख ४२०२ नम्बरको बसभित्र फेला परेको हो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा बसमा रहेका सबै यात्रुलाई आ–आÇनो झोला लिएर झर्न भनेपछि अन्य यात्रुहरु झोला लिएर झरेपनि ती दुई महिलाहरु भने रितै झरेका थिए । बसभित्र चेकगर्दा दुईवटा झोला फेला परेपछि ती महिलाहरुकै हुन सक्ने आशंकाका साथ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक ओलीले बताए । झोला भित्र साडी १ थान र कुर्ता सुरुवाल १ थान फेला परेकाले ती महिलाहरुकै हुन सक्ने आशंकाका साथ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजना महिलाहरुले आफूहरु नवलपुरबाट घरजान बस चढेको बताएको प्रहरीले जनाएको छ । बसका मजदुरहरुले पनि पक्राउ परेका महिलाहरु नवलपुरबाटै चढेको बताएको प्रहरीले जनायो । बस र बसका मजदुरलाई भने दिउँसै छाडिएको थियो ।
No comments:
Post a Comment