Friday, October 25, 2013

भाग्ने म्यादीको संख्या बढ्यो

भाग्ने म्यादीको संख्या बढ्यो
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । सुविधाको विषयमा असन्तुष्टि जनाउँदै सर्लाहीबाट नियुक्ति लिएका म्यादी प्रहरी भाग्ने क्रम जारी छ । तालिममा सहभागि भएका मध्ये जिल्लाका विभिन्न स्थानबाट बिहिबारसम्ममा ७३ जना म्यादीले काम छाडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहेका ७३ जना म्यादी प्रहरीहरु सम्पर्क बाहिर गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।  आवेदन लिने बेलामा नेपाल प्रहरीका जवानको २ महिना बराबरको सम्पूर्ण सुविधा उपलब्ध गराउने भनिएपनि हाल डेढ महिनाको मात्र सुविधा दिने भनिएपछि तालिममा सहभागि भएका म्यादी प्रहरी भागेका हुन् ।
आवेदन लिनेबेलामा नेपाल प्रहरीको जवानले खाने दुईमहिनाको संपूर्ण सुविधा दिने भनिएपनि हाल डेढ महिनाको मात्र पाईने सुनेपछि र अर्को जिल्लामा खटिनु परेकाले म्यादीहरु धमाधम भाग्न थालेको प्रवक्ता ओलीले बताए । सर्लाहीमा एकहजार चारसय ६५ जना म्यादी प्रहरी खटाईने भएपनि धनुषाबाट एकहजार दुईसय ७९ जना जना मात्र आईपुगेका थिए । धनुषाबाट नियुक्ति बुझेर सर्लाही आउनुपर्ने म्यादीहरु नआएको प्रवक्ता ओलीले बताए ।
इलाका प्रहरी कार्यालय हरिवन, लालबन्दी, केशरगञ्ज, हरिपुर र बरहथवालाई १ सय २५ जनाको दरले तथा इलाका प्रहरी कार्यालय गडहियामा १ सय ३२ जना पठाईएको थियो भने बाँकीलाई मलंगवामै राखिएको थियो । त्यसमध्ये बिहिबारसम्म ७३ जना म्यादी प्रहरीले काम छाडेर भागिसकेका छन् । तालिममा आएका म्यादीहरु केही दिन दुईछाक खाना खाँदै भाग्दै गरेका कारण खाना खुवाउने ‘क्याटरिङ’ वालालाई समेत समस्या देखिएको प्रवक्ता ओलीले बताए ।

No comments:

Post a Comment